Friday, 23, April, 2021

‘म बनाउँछु मेरो गाउँ’ अभियानलाई केसी दम्पतीबाट ५ लाख ३० हजार रुपिँया सहयोग

काठमाडौं । ‘म बनाउँछु मेरो गाउँ’ अभियानलाई व्यवसायी भिमराज केसी र उहाँकी श्रीमती कल्पना डाँगीले पाँच लाख ३० हजार सहयोग गरेका छन् ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका १० घारीखोलाका स्थानीय ‘म बनाउँछु मेरो गाउँ’ अभियानमा जुटेका छन् । गाउँको समग्र विकासका लागि भन्दै स्थानीय युवाले अगुवाई गरी काम अघि बढेको छ । यो अभियानको एक अभियान्ता समेत रहेका भिमराजले पाँच लाख र उनकी श्रीमती कल्पना डाँगीले ३० हजारको छुटछुट्टै चेक अभियानलाई हस्तान्तरण गरेका हुन् । अभियान्ता महानराज ओलीलाई उनीहरुले चेक हस्तान्तरण गरेका हुन् । उनीहरु सोही वडाको घारीखोला निवासी हुन् । भीमराज यति विल्डर्स प्रालिका प्रमुख हुन् । घारीखोलाका स्थानीय युवा, समाजसेवी तथा वुद्धिजिविहरु गाउँ बनाउने भनेर आफै सहयोग गर्ने तथा जुटाउने अभियानमा लागिरहेका छन् ।

गाउँको शिक्षा, स्वास्थ्य, पूर्वाधारको विकास गर्ने योजना अभियानले राखेको छ । सुरुमा जनविकास मावि घारीखोलाको भौतिक पूर्वाधार निर्माण गर्ने र त्यसपछि शैक्षिक सुधारका कार्यक्रम गर्ने योजना रहेको भिमराजले बताए । केसीले समाजको विकासका लागि सबैको योगदानको खाँचो रहेकाले आफूहरुको तर्फबाट पनि केही सहयोग गरेको स्पष्ट पारेका छन् । अर्का अभियान्ता गोविन्द केसीले विभिन्न व्यक्ति र संघ संस्थाबाट अभियानका लागि झण्डै ४० लाख रुपिँया जम्मा हुने प्रतिबद्धता भइसकेको जनाए । उनले अझै पनि धेरैले प्रतिबद्धता जनाएको स्पष्ट पारेका छन् । उनले यो सामाजिक कार्य भएकाले सबैको सहयोग हुने अपेक्षा गरेका छन् । अभियानले राम्रो कामका लागि सबैसँग सहयोगको आग्रह गरेको छ ।