Friday, 23, April, 2021

४५ औं वर्षगाँठमा हरिभक्तको ‘एकमात्र’ विमोचन

काठमाडौं । आध्यात्मिक चिन्तन र नेपाली साहित्यमा लामो समयदेखि कलम चलाउदै आएका  हरिभक्त सिग्देल ‘महेश’को आफ्नो ४५ औं वर्षगाँठको अवसरमा आध्यात्मिक चिन्तन ‘एकमात्र’ कृति विमोचन भएको छ । ‘लोकसाहित्य भवन’मा शताब्दी पुरुष सत्यमोहन जोशीका हातबाट कृति विमोचन गरिएको हो ।

सोमवार बिहान ललितपुरमा रहेको ‘लोकसाहित्य भवन’मा शताब्दी पुरुष सत्यमोहन जोशीबाट लोकार्पण गरिएको पुस्तकको विमोचन पुनः दिउँसो ‘होटल अकामा’ धुम्बाराहीमा संयुक्त रुपमा विमोचन गरिएको हो । हिन्दु धर्मका विज्ञ डा. ऋषिराम पोखरेल, बुद्ध धर्मका विज्ञ प्रा.सुवर्ण शाक्य,  ईस्लाम धर्मका विज्ञ नजरुल हुसैन, इसाई धर्मका विज्ञ डा. के.वी.रोकाया, नेपाल सरकारका सचिव एवं समालोचक गोपीनाथ मैनाली, प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल र प्रा.डा. खेम कोइराला ‘बन्धु’ र कार्यक्रमका सभापति साहित्यकार कलानिधी दाहालले संयुक्त रुपमा कृति विमोचन गरेका हुन् ।

हरिभक्त सिग्देल ‘महेश’ र मिना सिग्देल उप्रेतीको ४५ औं वर्षगाँठको शुभ अवसर पारी सिग्देलको ४३ औं कृतिको विमोचन भएको हो । सो अवसरमा विभिन्न विद्वानहरुले सुखद् बैवाहिक जीवनको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा साहित्यकारहरु युवराज मैनाली, डा. अर्जुनदेव भट्ट, पुरुषोतम सिग्देल, दामोदर पुडासैनी ‘किशोर’, श्रीहरि फुँयाल लगायतले शुभकामना व्यक्त गरे ।

‘खड्गध्वज–गंगादेवी सिग्देल स्मृति साहित्य सारथी पुरस्कार तथा सम्मान २०७७’ को शुभारम्भ                      कार्यक्रमको अवसरमा लेखक सिग्देलले बुबा–आमा खड्गध्वज–गंगादेवी का स्मृतिमा प्रत्येक वर्ष नेपाली साहित्यको श्रीवृद्धिमा योगदान दिने साहित्यिक संघ–संस्था र साहित्यकारलाई सम्मानित तथा पुरस्कृत गर्ने उद्देश्य राखी नगद पन्ध्र हजार पाँच सय पचपन्न सहित प्रत्येक वर्ष सम्मानको शुभारम्भ गरेका छन् । उक्त पुरस्कार संस्थापक श्रीमती मिना उप्रेती सिग्देल र विशिष्ठ अतिथि प्रा.डा ऋषिराम पोखरेलले दुईजना साहित्यकारलाई प्रदान गरेका थिए । सो पुरस्कार यस वर्ष साहित्य बाटिका नेपालका भैरवी भूगोल र बलराम दाहाललाई प्रदान गरिएको थियो ।