Friday, 23, April, 2021

महिलालाई हेर्ने दृष्टिकोणमा अझै सुधार आएन– कोषाध्यक्ष लक्ष्मी पाण्डे

काठमाडौं । नेपाली कांग्रेस कास्कीकी कोषाध्यक्ष लक्ष्मी पाण्डेले महिलालाई हेर्ने दृष्टिकोणमा अझै परिवर्तन नआएको आरोप लगाइन् ।

१ सय ११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा कुरा गर्दै उनले शताव्दी बदलिए पनि सोच नबदलिएकाले महिलालाई हेर्ने नजर उस्तै भएको बताइन् । ‘हामी परिवर्तनका ठूला कुरा गर्छौ, विभिन्न आन्दोलन र क्रान्ति भए त्यसबाट उपलव्धि पनि हासिल गरियो तर महिलामाथिको विभेद कायमै छ’ उनले भनिन् ‘ महिलाले जिम्मेवारी लिन सक्दैनन् भन्ने आरोप लगाइन्छ तर जिम्मेवारी पाएकाहरु कोही पनि कर्तव्य निर्वाह गर्नबाट चुकेका छैनन् ।’ उनले काम नदिने र आलोचनामात्र गरिरहने संस्कार ठिक नभएको बताइन् ।’ उनले महिलाले चलाएका संघसंस्था र विभिन्न निकाय पुरुषको तुलनामा बढी विश्वसनीय र भरपर्दो पनि भएको दाबी गरेकी छिन् ।


उनले यो दिवसका अवसरमा देश विदेशमा रहेका सबै महिलालाई शुभकामना दिएकी छिन् । उनले पछिल्लो समयमा बालिका हत्या, बलात्कार र अन्य हिंसाका घटना बढ्दै गरेकोमा चिन्ता व्यक्त गरिन् । एक महिलाले अर्को महिलालाई हेर्ने र बुझ्ने दृष्टिकोणमा पनि परिवर्तन आउनुपर्ने उनको भनाई छ । उनले महिलाले राष्ट्रपति, सभामुख र प्रधान न्यायाधीशजस्तो महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेकाले त्यसलाई पनि हेर्न र मूल्यांकन गर्न सुझाव दिएकी छिन् ।