Tuesday, 20, April, 2021

कार्यकर्ताले नेताको चाकडी गर्न थालेपछि नेताहरुले गलत बाटो समाउँछन् –राप्रपा नेता नविन शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य नविन शाहीले नेकपाको कमेडी हेरेर जनता वाक्कदिक्क भइसकेको बताएका छन् । उनले यसअघि निर्वाचनमा नेकपाले गरेका वाचा पूरा गर्न नसकेमा आलोचना गरे ।

‘नेकपाको निःशुल्क कमेडी हेरेर जनता निराश भएका छन्, एकले अर्कालाई गाली गरेर कहिल्यै पनि निकास निस्किँदैन’ उनले भने ‘ गफ मात्र बढी गरेको छ सरकारले काम गर्न चासो देखाएन, गफ अनुसार काम भएको भए नेपालको मुहार नै फेरिन्थ्यो ।’ उनले जनताले अब नेकपालाई नपत्याउने दाबी गरे । ‘नेताभन्दा पार्टी ठूलो हो र त्योभन्दा ठूलो कुरा जनता हो सबैले यसलाई ध्यान दिनु जरुरी छ’ नेता शाहीले भने ‘ नेकपाकै कारण अस्थिरता, अराजकता र अनियमितता छाएको छ, सर्वोच्च अदालतको फैसलाले वातावरण सहज भएको छ अब निकासको बाटो अघि बढ्यो ।’ नेता शाहीले प्रमुख नेताहरु सत्ता र व्यक्तिगत स्वार्थमा लागेकाले देश संकटमा परेको बताए ।

शाहीले राप्रपा पनि आफ्नै कारण अप्ठेरोमा परेको बताए । उनले पार्टीका तीनजना अध्यक्षले पनि व्यक्तिगत स्वार्थलाई त्यागेर देश र जनताको पक्षमा निर्णय गर्नुपर्नेमा जोड दिए । ‘नेताहरुलाई मान्नुपर्छ भन्ने कुरा त ठिकै हो तर उनीहरुले जे जे भन्छन् त्यसको पछिचाँहि हामीजस्ता नेता कुद्नु हुँदैन’ उनले भने ‘ कार्यकर्ताको झुण्डले नेतालाई उचालेका कारण पनि नेतामा घमण्ड बढेको छ र जनताभन्दा टाढा भएका छन् ।’ कार्यकर्ताले नेताहरुको चाकडी गर्न थालेपछि नेताहरु तानाशाही बन्ने र गलत बाटो लिने गरेको उनको भनाई छ । उनले राप्रपाको विभाजनले पार्टीका नेता तथा कार्यकर्तामा निराशा छाएको बताए । आगामी वैशाखमा हुने पार्टीको एकता महाधिवेशनले पार्टीमा देखिएका समस्या अन्त्य हुनेसमेत उनको दाबी छ ।

उनले जनताको बलबाट नै राजसंस्थाको उदय हुने स्पष्ट पारे । ‘नेपालका हावापानी सुहाउँदो राजसंस्था स्थापना हुन्छ यो जनताको चाहना हो’ उनले भने ।