Saturday, 27, February, 2021

तिवारीद्धारा वडा कार्यालय भवनलाई जग्गा प्रदान

पर्वत । ऐक्यबद्धता प्रकाशनका अध्यक्ष निलकण्ठ तिवारीले पर्वतको पैयु गाउँपालिका ६ सरौखोलामा वडा कार्यालय भवनको लागि जग्गा प्रदान गरेका छन् । उनले जग्गा निःशुल्क उपलव्ध गराएपछि भवन निर्माणको काम अघि बढ्ने भएको छ ।

सोही वडाका स्थायी बासिन्दा तिवारीले सरौ फाट सोतोको १ रोपनी जग्गा प्रदान गरेका हुन् । वडासचिव पाराश्वर सापकोटाका अनुसार स्थानीय, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र समाजसेवीहरुको उपस्थितिमा उनले सो घोषणा गरेका थिए । राजनीतिक आन्दोलनका क्रममा २०४६, २०५४ र २०५५ सालमा पटकपटक जेल बसेका तिवारी २०५८ सालपछि गणतान्त्रिक आन्दोलनका लागि भूमिगत भएका थिए । उनी अहिले सामाजिक अभियानमा बढी क्रियाशील छन् । उनी गैर आवासीय नेपाली पत्रकारिताका प्रवर्दक पनि हुन् ।

‘जग्गा वा भूमि अन्ततः राज्यकै हो । नागरिकको जिम्मा पनि राज्यले नै लिनुपर्छ । स्थानीय तह र वडालाई भौतिक रुपले संस्थागत गर्न सहयोग पुगोस् भनेर यस्तो निर्णय गरेको हुँ ’ तिवारीले भने । वडाध्यक्ष थानेश्वर तिवारीले आइतबार एक पत्र पठाई तिवारीको योगदानको प्रशंसा गरेका छन् ।