Saturday, 27, February, 2021

फेकनलाई राम्रो बनाउन इन्द्रजित गौतमका यस्ता छन् योजना

काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को शनिबार हुने १० औं साधारणसभा तथा नयाँ नेतृत्व चयनका लागि इन्द्रजित गौतमले सदस्यमा भुपाल तामाङको समूहबाट उम्मेदवारी दिएका छन् ।

एक्युरा एजुकेशन कन्सल्टेन्सीका प्रवन्ध निर्देशकसमेत रहेका गौतमले सदस्यमा निर्वाचित भएपछि संस्थाको हकहितका लागि प्रभावकारी भूमिका खेल्ने दाबी गरेका छन् । उनले आफू शैक्षिक परामर्शदाता भएर पाएको अनुभवलाई ठाउँमा पुगेपछि केही काम गरेर देखाउने प्रतिबद्धता जनाएका छन् । विभिन्न क्याम्पसमा अध्यापन गराउँदै आएका उनले सामाजिक काम गरेर पनि समाजमा आफ्नो परिचय स्थापित गरेका छन् । उनी युथ फर व्यलडका अध्यक्षसमेत हुन् । सबैको साझा र गतिशील फेकन बनाउने उनको प्रमुख एजेण्डा छ ।

उनले नयाँ व्यवसायीलाई समन्वय गरेर जाने र पुराना व्यवसायीको अनुभवलाई समेटेर संस्थाको वृहत्तर हित गर्ने योजना अघि सारेका छन् । आफूहरुको समूहको एजेण्डा राम्रो भएकाले त्यसलाई साकार पार्न पनि व्यवसायीले पत्याउने उनको दाबी छ । उनले विद्यार्थीमा देखिँदै आएको ‘नो अव्जेक्सन सर्टिफिकेट’ को समस्यालाई विशेष ध्यान दिने र समाधान खोज्ने स्पष्ट पारेका छन् । उनले उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीका लागि सरकारले लिँदै आएको २ प्रतिशत शिक्षा सेवा करको विषय पनि प्राथमिकताका साथ उठाएका छन् । विद्यार्थीको भिषा नलाग्दा अहिले त्यो रकम विद्यार्थीले फिर्ता पाउँदैनन् गौतमले फिर्ता गर्नका लागि प्रतिबद्ध रहने जनाए ।
उनले राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा शैक्षिक सम्वन्ध प्रगाढ बनाउने, नयाँ विश्वविद्यालयको खोजी गरेर विद्यार्थीलाई गुणस्तरीय शिक्षाका लागि पहल गर्ने पनि जनाएका छन् ।

२०६५ सालमा स्थापना भएको फेकनको साधारणसभाले २ वर्षका लागि अध्यक्ष, दुई उपाध्यक्ष, महासचिव, दुई सचिव, एक कोषाध्यक्ष र ६ सदस्यको नयाँ नेतृत्व चयन गर्ने छ ।