काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को शनिबार हुने १० औं साधारणसभा तथा नयाँ नेतृत्व चयनका लागि महासचिवमा राजु निरौलाले भुपाल तामाङको समूहबाट उम्मेदवारी दिएका छन् ।
वर्तमान कार्यसमितिमा सचिव भएर प्रभावकारी भूमिका खेलेका निरौलाले आफू महासचिव भए संस्थाको गरिमालाई थप मजबुत बनाउने स्पष्ट पारेका छन् । ‘मैले अहिले सचिव भएर जे काम गरेको छु त्यो सबैलाई थाहा छ, व्यवसायी साथीहरुले यो बुझ्नुभएको छ भन्ने मलाई लाग्छ’ निरौलाले भने ‘फेकनलाई यहाँसम्म ल्याउन मैले पनि आफ्नो तर्फबाट योगदान गरेको छु, भोलि अर्को जिम्मेवारी पाउँदा त्यो भूमिकालाई सुहाउने गरी काम गरेर देखाउँछु ।’
निरौलाले आफ्नो पहलमा नै गण्डकी प्रदेश समिति बनेको पनि स्पष्ट पारेका छन् । उनले कोरोना संक्रमणका कारण संकटमा परेका व्यवसायीको पक्षमा आवाज उठाउने योजना पनि बनाएका छन् । ‘व्यवसायी र सरकारबीच समन्वय गर्नुपर्ने खाँचो छ, शैक्षिक परामर्शदातालाई सरकारले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनु जरुरी छ ’ उनले भने ‘ शैक्षिक परामर्शदाताका अन्य संस्थासँग पनि समन्वय गरेर आगामी दिनमा साझा एजेण्डा बनाएर जाने मेरो प्रमुख लक्ष्य हो ।’ उनले व्यवसायीको क्षमता अभिवृद्धि गर्ने, व्यवसायीको गुनासा तत्काल सम्वोधन गर्ने, विभिन्न समस्या समाधान गर्न विशेष कार्यदल बनाउने, फेकन एप्स सञ्चालन गर्ने, कार्यालय व्यवस्थित गर्नेजस्ता योजना अघि सारेका छन् ।
उनले राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा शैक्षिक सम्वन्ध प्रगाढ बनाउने, नयाँ विश्वविद्यालयको खोजी गरेर विद्यार्थीलाई गुणस्तरीय शिक्षाका लागि पहल गर्ने पनि जनाएका छन् । उनले उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीका लागि सरकारले लिँदै आएको २ प्रतिशत शिक्षा सेवा करको विषय पनि प्राथमिकताका साथ उठाएका छन् । विद्यार्थीको भिषा नलाग्दा अहिले त्यो रकम विद्यार्थीले फिर्ता पाउँदैनन् निरौलाले फिर्ता गर्नका लागि प्रतिबद्ध रहने जनाए ।
२०६५ सालमा स्थापना भएको फेकनको साधारणसभाले २ वर्षका लागि अध्यक्ष, दुई उपाध्यक्ष, महासचिव, दुई सचिव, एक कोषाध्यक्ष र ६ सदस्यको नयाँ नेतृत्व चयन गर्ने छ ।