Sunday, 09, May, 2021

भागरथी हत्या प्रकरणका आरोपित प्रहरीद्वारा सार्वजनिक

बैतडी, बैतडीको दोगडाकेदार गाउँपालिका–७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको छ ।

भागरथी पढ्ने सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा पढ्ने भट्टको प्रकरणमा संलग्नता पुष्टि भएपछि उनलाई प्रहरीले सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय, बैतडीमा बुधबार दिउँसो आयोजित पत्रकार सम्मेलन गरि प्रहरीले भट्टलाई सार्वजनिक गरेको हो । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले प्राविधिक प्रमाण, प्रत्यक्षदर्शी साक्षी, साबिती बयान लगायतका आधारमा भट्टलाई पक्राउ गरिएको जानकारी दिए ।

भट्टले प्रहरीसँग दिएको बयानमा प्रतिसोध साध्न भागरथीको हत्या गरेको बताएका छन् । भागरथीको बुबाले आफ्नी फूपूलाई दुर्व्यवहार गरेकाले आफूले हत्या गरेको उनले बताएको प्रहरीले जनाएको छ ।

भागरथीको हत्यापछि न्यायका लागि भएको प्रदर्शनमा सहभागी थिए आरोपी

भागरथी भट्ट २१ माघ बुधबार साँझदेखि बेपत्ता भएपछि परिवारले खोजतलासका लागि प्रहरीलाई आग्रह गर्‍यो, स्थानीय पनि खोजीमा निस्किए ।

बिहीबार उनको शव सनातन धर्म माध्यमिक विद्यालयबाट घर फर्किने सडकबाट ५० मिटर तल झाडीमा भेटियो । भागरथी प्रकरण कञ्चनपुरको निर्मला प्रकरण जस्तो नहोस् भन्दै स्थानीयले शुक्रबारबाट आन्दोलन र प्रदर्शन थाले । त्यही प्रदर्शनको अग्रपङ्तिमा विद्यालयको कक्षा ११ मा अध्ययनरत १८ वर्षीय दिनेश भट्ट पनि सहभागी थिए ।

घटनापछि उनी भागरथीको न्याय माग्दै भएको प्रदर्शनमा सहभागी भएका थिए । तर, उनको व्यवहार भने परिवर्तन भएको र शंकास्पद कुरा र गतिविधी गर्ने गरेको नजिकबाट चिन्नेहरुले बताएको प्रहरीले जनाएको छ ।

घटनास्थलको त्रुटिरहित ढंगले प्रमाण संकलन गरेर प्रयोगशालामा पनि केही प्रमाण पठाइएको सुवेदीले बताए । उनीविरुद्ध ज्यान मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान हुने सुवेदीले बताए । भट्टविरुद्ध भागरथीले दाइले किटानी जाहेरीसमेत दिएको उनले जनाए ।

प्रकरणको सफल अनुसन्धान गरेको भन्दै स्थानीयवासीले डीआईजी सुवेदी लगायतका अधिकृतहरुलाई फूलमाला लगाइदिएर सम्मानसमेत गरेका छन् ।