Monday, 01, March, 2021

शैक्षिक परामर्श व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन मेरो सचिवमा उम्मेदवारी – छविन्द्र ओझा

काठमाडौं । शैक्षिक परामर्श व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन आफू स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन) को सचिव हुनुपर्ने सचिवका उम्मेदवार छविन्द्र ओझाले दाबी गरेका छन् ।

 


फेकनको फाल्गुण ८ गते हुने १० औं साधारणसभा तथा नयाँ नेतृत्व चयनका लागि भुपाल तामाङको समूहबाट उनले सचिवको उम्मेदवारी दिएका छन् । ओझाले आफूहरुको प्यानल अनुभवी भएको र पुराना र नयाँ सबैलाई समेट्न सफल भएको स्पष्ट पारेका छन् । उनले आफ्नो समूहमा सबै प्रकारका आस्था बोकेको प्रतिनिधित्व भएको र समावेशी टीम भएकाले पनि निर्वाचन जित्ने दाबी गरेका छन् । पुरानाको अनुभव समेट्ने र नयाँको जोश जाँगरलाई समावेश गरेर आफ्नो समूह अघि बढ्ने उनको भनाई छ । उनले फेकनमा आइपर्ने जस्तोसुकै समस्या समाधान गर्न पनि अबको आफ्नो नेतृत्व सक्षम रहेको पनि उनले उल्लेख गरेका छन् ।

ओझाले आफू फेकनमा आवद्ध नहुँदा नै फेकनको नीति निर्माणमा सहयोगी र विशेष भूमिका खेलेको जनाएका छन् । ‘मैले अहिलेसम्म फेकनको लागि जे जति योगदान गरें त्यो फेकनका व्यवसायी साथीहरुलाई पनि स्पष्ट छ’ उनले भने ‘सबैको सल्लाहमा नै म सचिव बन्न लागेको छु, मतदान गरेर सेवा गर्ने अवसर दिनुहुन्छ भन्नेमा म ढुक्क छु ।’ पहिलोपटक फेकनको नेतृत्वमा जान खोजेका उनले प्रदेश संरचनामा पनि शाखा विस्तार गर्ने, फेकनमा ४ सय सदस्य बनाउने, शैक्षिक परामर्शदाताका अरु छाता संघ संगठनसँग समन्वय गरी साझा हकहितका लागि अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । उनले शिक्षा मन्त्रालयसँग समन्वय गरेर जाने, व्यवसाय नवीकरणलाई सहज बनाउने, विभिन्न विभाग गठन गरेर हरेक प्रकारका गतिविधिलाई सक्रिय बनाउने पनि उनको योजना छ ।

राष्ट्रिय रअन्तराष्ट्रिय रुपमा डिप्लोमेटिक निकायसँग समन्वय गरी सम्वन्ध थप मजबुत बनाउने उनको योजना छ । त्यसैगरी फेकनाका कम्तीमा ५० प्रतिशत सदस्यलाई विभिन्न देशमा भ्रमण गराई शैक्षिक र व्यवसायिक विषयमा जानकारी हासिल गराउने, सदस्यहरुलाई तालिम र क्षमताको वृद्धि गर्दै लैजाने, आफूहरुले काम गरिरहेको देशबाहेक अरु देशसँग पनि सम्वन्ध स्थापित गर्ने वातावरण तयार पार्ने, संस्थालाई वृहत्तर रुपमा लैजाने, कार्यालय व्यवस्थापन र व्यस्थित गर्ने पनि योजना अघि ल्याएका छन् ।

ओझाले आफ्ना एजेण्डाले व्यवसायीको पक्षमा काम गर्ने दाबी गरेका छन् । २०६५ सालमा स्थापना भएको फेकनको साधारणसभाले २ वर्षका लागि अध्यक्ष, दुई उपाध्यक्ष, महासचिव, दुई सचिव, एक कोषाध्यक्ष र ६ सदस्यको नयाँ नेतृत्व चयन गर्ने छ ।