Sunday, 09, May, 2021

म सूर्यबाहेक अरुमा उठ्दिन भनेर ओलीले किन भने ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार आफ्नो दलबलसहित निर्वाचन आयोग पुगेका छन् । निर्वाचन आयोगसँग ओलीले आफ्नो पार्टी नै आधिकारिक भएकाले आफूले नै नेकपा पाउने पनि दाबी गरेका छन् ।

पार्टीको आधिकारिकताबारे आयोगमा बहस भइरहेका बेला ओलीले सूर्य आफ्नो पार्टीलाई दिनुपर्ने संकेत गरेका छन् । २०४८ सालदेखि नै संसदीय निर्वाचनमा उठ्दै आएका ओली २०६४ सालको संविधानसभाको निर्वाचनमा भने झापा –७ बाट नेकपा माओवादीका उम्मेदवार विश्वदीप लिङ्देनसँग पराजित भएका थिए । उनले २०५६ सालमा झापाको २ र ६ बाट प्रतिनिधिसभा निर्वाचन जितेका थिए । उनी अहिलेसम्म ५ पटक निर्वाचित सांसद भएका छन् । हिजो नेकपा एमाले रहँदा उसको निर्वाचन चिन्ह सूर्य थियो तर अहिले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता भएर नेकपा भएपछि सूर्य हराएको थियो । ओलीले पनि अब एमाले र माओवादी भन्ने पार्टी नरहेको र पार्टी एकढिक्का भएर बताए पनि फेरि सूर्यको नै पछि लागेका छन् ।

बुधवार काठमाडौमा भएको दाहाल– नेपालको शक्ति प्रदर्शनमा अधिकांश नेताहरुले ओलीले निर्वाचन आयोगलाई धम्क्याउन खोजेको भन्दै आपत्ति जनाए । उनीहरुले कसैको डर र प्रभावमा नपरी निर्णय गर्न पनि आयोगलाई आग्रह गरे । पार्टीको विवाद बढ्दै गएको र कानुन अनुसार नेकपाको दाहाल–नेपाल पक्षले सूर्य र पार्टीको नाम पाउने भएपछि ओली अलमलमा परेका छन् । नेकपाको हाल कायम रहेका ४ सय ३४ केन्द्रीय समितिमा आफूहरुसँग २ सय ७५ भन्दा केन्द्रीय सदस्यहरु रहेको दाहाल–नेपाल पक्षको दाबी छ । यो आधारलाई हेर्दा ओली अल्पमतमा छन् । उनले आयोगलाई प्रभाव पारेर आफ्नो भागमा सूर्य पार्ने कोशिस गरिरहेका छन् । आयोगले गतसाता छलफल गर्नका लागि भनेर बोलाएको दुवै पक्षको बैठकमा ओली समूह गए पनि अर्को समूह भने कार्यव्यस्तता देखाउँदै गएन ।

अहिले दुवै गुटले सूर्यमा लडाई लड्दै आएका छन् । ओली जसरी भए पनि सूर्य चाहिन्छ भनेर भन्दै आएका छन् भने अर्को पक्षले कानुनी रुपमा पनि आफूले नै पाउने भन्दै ढुक्क भएको छ । ओलीलाई सूर्य दिने कानुनी आधार नभएकाले पनि आयोग के गर्ने भन्नेमा अन्यौल छ । उता प्रतिनिधिसभा विघटनको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले पनि सरकारले गर्ने भनेको वैशाख १७ र २७ गतेको मध्यावधी निर्वाचन होला कि नहोला भन्नेमा अन्यौल छ ।

आयोगले पार्टीको आधिकारिकतबारे छिटो टुंगो लगाउन नसक्दा निर्वाचनसमेत प्रभावित हुने देखिएको छ । जुन पक्षले निर्वाचन चिन्ह र पार्टीको आधिकारिकता पाए पनि अर्को पक्षले त्यसलाई नमान्ने र निर्वाचन प्रभावित हुने खतरा छ । यदी ओलीले सूर्य र नेकपा पाएनन् भने उनले चाल्ने कदम झन् खतरनाक हुन सक्छ । अर्कोतिर ओलीलाई आयोगले मान्यता दियो भने अर्को पक्ष न्यायाको लागि सर्वोच्च अदालत जाने छ र प्रक्रिया लम्बिने खतरा छ ।