Tuesday, 02, March, 2021

संस्थापक अध्यक्ष राइको समर्थन बासु नेपालको प्यानललाई

काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन) को फाल्गुण ८ गते हुने साधारणसभा तथा नयाँ नेतृत्व चयनका लागि दुई समूह प्रतिष्पर्धामा अघि बढेका बेला संस्थापक अध्यक्ष मानबहादुर राइले बासु नेपालको प्यानललाई समर्थन गरेका छन् ।

राइले नेपालको प्यानलले व्यवसायीको मुद्या सम्वोधन गर्ने भएकाले आफूले खुलेरै समर्थन गरेको जनाएका छन् । ‘बासुजीको प्यानलमा उम्मेदवार छनौट राम्रो छ, उहाँले जस्तोसुकै समस्या परे पनि व्यवसायीको हित गर्न सक्नुहुने छ’ राइले भने ‘ मैले हुर्काएको संस्था हो त्यसैले यसको भविष्यको उज्वल पार्नका लागि उहाँलाई नै समर्थन गरेको हुँ ।’ राइले फेकनलाई सबै कन्सल्टेन्सी व्यवसायीको छाता संस्थाको रुपमा स्थापित गर्न नेपालको भूमिका प्रभावकारी रहने पनि दाबी गरे । नेपालले आफ्नो एजेण्डासहित प्यानलको घोषणा गर्ने अन्तिम तयारी गरेका छन् । राइले फेकनमा देखिएको अलमल र असहज अवस्थालाई चिर्दै सबैले आफ्नै संस्था हो भन्ने वातावरण बनाउन नेपालले नै सक्ने पनि स्पष्ट पारे ।
नेपालले कोरोनाको कारण थला परेको कन्सल्टेन्सी व्यवसायलाई सुधार गरेर पुरानै बाटोमा फर्काउन आफू प्रयत्नरत रहेको बताए । ‘कोरोनाले हामीलाई निकै असर पारेको छ, अब कसरी व्यवसाय गर्ने भन्ने संकट छ तर पनि केही प्रयास गरिरहेका छौं’ नेपालले भने ‘ हाम्राजस्ता व्यवसायीका अरु संघ संगठनसँग पनि समन्वय गरेर नयाँ योजना बनाएर जानुपर्छ भनेर मैले बारम्बार कुरा उठाइरहेको छु ।’ नेपालले व्यवसायीलाई थप आत्मनिर्भर बनाउने, विभिन्न तालिम र गोष्ठी सञ्चालन गर्ने, शिक्षा मन्त्रालयसँगको सम्वन्ध र समन्वय बढाउने, संस्थालाई आर्थिक र भौतिक रुपमा व्यवस्थापन गर्ने, अरु व्यवसायीलाई पनि आफ्नो संस्थामा आवद्धता गराउने, विभिन्न विषय पढ्न अरु देशबाट विदेशिने विद्यार्थीलाई शिक्षाको गुणस्तर वृद्धि गरी नेपाल ल्याउने वातावरण बनाउन पहल गर्नेलगायतका योजना अघि सारेका छन् ।

अध्यक्षका उम्मेदवार नेपालसँग संस्थापक अध्यक्ष राई
अध्यक्षका उम्मेदवार नेपालसँग संस्थापक अध्यक्ष राई

फेकनका पूर्व वरिष्ठ उपाध्यक्ष रहेका नेपालले २ वर्षअघि भएको निर्वाचनमा सहमतिका आधारमा उम्मेदवारी दिएका थिएनन् । ‘त्यतिबेला म पनि स्वभाविक रुपमा अध्यक्षको दाबेदार थिएँ तर मैले छोडिदिएँ’ उनले भने ‘ यसपालिको मेरो उम्मेदवारी स्वभाविक छ, सबै व्यवसायीको सल्लाहमा नै मैले अध्यक्ष हुने निर्णय गरेको हुँ ।’

फेकनको साधारणसभाले २ वर्षका लागि अध्यक्ष, दुई उपाध्यक्ष, महासचिव, दुई सचिव, दुई कोषाध्यक्ष र ६ सदस्यको नयाँ नेतृत्व चयन गर्ने छ ।