Wednesday, 24, February, 2021

६४ प्रतिशत सांसद् मसँग छन् भन्दै भन्दै संसदबाट भाग्दै ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई ६४ प्रतिशत सांसदको समर्थन भएको भनेर दाबी गरे पनि प्रतिनिधिसभामा ‘फेस’ गर्न भने डराएका छन् ।

उनले आफूविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्ने भएपछि अचानक हतारिएर प्रतिनिधिसभा विघटन गरेका छन् । ओलीले नेकपाको एकता हुँदा भएको ६४ प्रतिशतलाई नै आफ्नो सही मत भएको भन्दै आए पनि उनले पार्टी विभाजनको संघारमा गएपछि उनले अझै पनि त्यही अडान लिँदै आएका छन् । ओलीले संसदमा आफू प्रस्तुत भए आफ्नो पद धरापमा पर्ने बुझेर नै प्रतिनिधिसभा भंग गरेका हुन् । ओलीले सरकार र पार्टी चलाउन नसकेपछि संकटमा पर्दै आएको आफ्नो छवि बचाउन हरेक प्रयत्न गरे पनि त्यो फलदायी हुन सकेको छैन ।

ओलीले आफू नै पाँच वर्षको प्रधानमन्त्री भएको र आफ्नो नाममा नै यत्रो मत आएको भनेर बजारी हल्ला चलाए पनि उनको कार्यशैली र व्यवहारको आलोचना हुँदै आएको छ । ओलीले आफूविरुद्ध आफ्नै पार्टीका सांसदहरुले अविश्वासको प्रस्ताव राख्ने भएपछि संसदीय दलमा छलफल गर्नु र निर्णयमा पुग्नुको साटो प्रतिनिधिसभा भंग गरेर आफूलाई बचाउन खोजे पनि उनको कदम संविधानविपरीत र जनताको भावनाविपरीत भएकाले उनी दिनैपिच्छे आलोचित बन्दै आएका छन् ।