Saturday, 27, February, 2021

सडकमा तथानाम भनेपछि ओली र प्रचण्डमाथि नैतिकताको प्रश्न

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पौष ५ गते प्रतिनिधिसभा भंग गरेपछि पार्टी औपचारिक रुपमा विभाजन नभए पनि आन्तरिक रुपमा भने समस्या देखिएको छ ।

ओलीको कदम असंवैधानिक भएको भन्दै नेकपाका पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेताहरु ओलीको विरोधमा सडकमा उत्रेका छन् । सँगै बसेर मिलेमत्तो हुन्जेलसम्म एकले अर्कालाई राम्रो भन्दै गुणगान गाएका थिए तर मत विभाजन भएपछि भने एकले अर्कालाई देखी सहेका छैनन्, यतिसम्म कि उनीहरु तुच्छ शब्द प्रयोग गरेर गालीगलौजमा उत्रेका छन् । यो मामिलामा दुवै पक्षको कमजोरी रहेको छ, प्रधानमन्त्री ओलीले पनि अर्को पक्षका दाहाल, नेपाललाई केही भन्न बाँकी राखेका छैनन् त्यसको प्रतिकारमा दाहाल–नेपाल पनि उत्रेका छन् ।

नेताहरुको बोली र आरोपलाई हेर्ने हो भने उनीहरु राजनीतिक प्राणी होलान् जस्तो पनि लाग्न छोडेको छ । उनीहरुले देश र जनताको पक्षमा काम गर्ने घोषणा गरेका नेताहरुले तल्लो स्तरमा गएर दिएको अभिव्यक्तिको सर्वत्र आलोचना भएको छ । नेताहरुको भनाईलाई हेर्ने हो भने अब उनीहरुको आगामी बाटो कस्तो हुने हो भन्ने सहजै अनुमान लगाउन सकिँदैन । हिजोसम्म मिलेर गएकाहरु आज आएर अप्ठेरोमा परेपछि आफ्नो आफ्नो पक्षमा वकालत गर्दै आएका छन् । नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीच २०७५ साल जेष्ठ ३ गते पार्टी एकता भएर नेकपा भएको थियो । विवादका बीच भएको पार्टी एकताका सबै प्रक्रिया बाँकी नै रहेका बेला नेकपामा देखिएको आन्तरिक द्धन्द्धले थप संकट निम्तिएको छ ।

ओलीले आफूलाई सरकार चलाउन अर्को पक्षले नदिएकाले आफू बाध्य भएर प्रतिनिधिसभा विघटन गरेको भन्दै आएका छन् तर अर्को पक्षले भने ओलीकै कमजोरीका कारण यो अवस्था आएको आरोप लगाउँदै आएको छ । नेताहरुको पछिल्ला समयका भाषण अस्वभाविक देखिन्छन् । अहिले आएर विगतमा एकले गरेका गल्तीलाई अर्कोले खुलेरै विरोध गरेका छन् । विगतमा देशलाई शान्ति र स्थायित्व दिने भनेर अघि बढेका नेकपाका नेताहरु आफ्नो स्वार्थमा मात्र लागेकाले यो अवस्था आएको हो भनेर सजिलै भन्न सकिन्छ ।