Monday, 01, March, 2021

प्रधान सम्पादक अधिकारीलाई पूर्व सांसद्ले ज्यान मार्ने धम्की दिएको भन्दै पत्रकार महासंघको आपत्ति

काठमाडौं । समाचार लेखेकै आधारमा अनलाइनपाना डटकमका प्रधान सम्पादक नारायणप्रसाद अधिकारीलाई ज्यान मार्नेसम्मको धम्की आएको प्रति नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पूर्व सभासद् तथा नेकपा ओली गुटका नेता योगेन्द्र घिसिङले मोबाईल तथा सामाजिक सञ्जालमार्फत अश्लील गाली बेइज्जती सहित ज्यान मार्ने धम्की दिएकोप्रति महासंघले ध्यानाकर्षण भएको जनाएको हो । महासंघका सचिव मोहनप्रसाद पन्तद्धारा प्रकाशित विज्ञप्तिमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखा सदस्य एवं अनलाइन पाना डटकमका प्रधान सम्पादक नारायणप्रसाद अधिकारीलाई ‘ओलीको क्याविनेटमा फरार अभियुक्त’ शीर्षकमा समाचार लेखेकै आधारमा घिसिङले अश्लील गालीगलौजसहित ज्यानै लिनेसम्मको धम्की दिएकोप्रति यस शाखाको गम्भीर ध्यानाकर्षण भएको भनी उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ– ‘पत्रकारलाई स्वतन्त्रतापूर्वक लेख्न र बाँच्न देऊ भन्ने विश्वव्यापी मान्यता र संविधान प्रदत्त प्रेस स्वतन्त्रताको मर्मविपरीत घिसिङले केही दिनअघि फेसबुक म्यासेन्जर तथा मोबाइलमार्फत आवेगपूर्ण, घृणित र धम्कीपूर्ण भाषामा सन्देश प्रवाह गरेकोप्रति शाखा गम्भीर आपत्ति प्रकट गर्दछ । प्रकाशित समाचारमा चित्त नबुझे खण्डन गर्ने, प्रेस काउन्सिलमा उजुरी दिने तथा अदालत सम्म जान सक्ने बाटो खुला हुँदाहुँदै संविधान निर्माणमा समेत संलग्न व्यक्तिले पत्रकारलाई यसरी धम्की दिनु खेदजन्य छ ।’

माघ ८ गते अनलाइनपाना डटकममा प्रधानमन्त्री केपी शर्मा ओलीको गुटमा विभिन्न आपराधिक पृष्ठभूमिका व्यक्तिहरुलाई केन्द्रीय सदस्य तथा मन्त्रीसम्मको अफर लगायतका प्रसंग समेटिएको समाचार सामग्री प्रकाशित गरिएको थियो । उक्त समाचारमा घिसिङको समेत नाम जोडिएकोमा उनी गाली बेइज्जतीमा उत्रिएका थिए ।

घिसिङले पठाएको खण्डनसमेत अनलाइनपानाले स्थान दिएर प्रकाशित गरेको प्रधान सम्पादक अधिकारीले जनाएका छन् ।