Sunday, 09, May, 2021

उखान टुक्का र चुट्किला सुन्न मन लागेकाहरु ओलीको पछि लागेका छन् पछि फेरि फर्केर आउँछन् – नेता ज्ञवाली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का (दाहाल–नेपाल) समूहका केन्द्रीय सदस्य रामकुमार ज्ञवालीले उखान टुक्का र चुट्किला सुन्न मन लागेकाहरु ओलीको पछि लागेका र पछि फेरि फर्केर आउने दाबी गरेका छन् । उनले दिउँसोलाई राती छ भनेर ओलीले भन्दा हो हजुर राती नै हो भन्ने मात्र ओलीसँग रहेको बताएका छन् ।

उनले ओलीले चाकडी बढी खोज्ने भएकाले त्यस्तै खालका मानिसमात्र त्यो समूहमा भएको आरोप लगाए । ‘ओलीले भनेको कुरा काट्न नसक्ने र उनले जे भने पनि हो हो हजुर भन्नेको जमात त्यहाँ छ’ पूर्व सांसदसमेत रहेका ज्ञवालीले भने ‘ सिधै नमस्ते गर्दा पनि ओलीले राम्रो मान्दैनन्, त्योभन्दा अघि चाकडी नै खोज्छन् ।’ ओलीले संविधान र वर्तमान व्यवस्थामाथि नै प्रहार गरेको उनले बताएका छन् । तत्कालीन नेकपा एमालेको महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्य रहेका उनले ओलीकै कारण पार्टीमा संकट देखिएको स्पष्ट पारे ।

‘ओलीले पार्टी र सरकार चलाउन सकेनन्, यसरी जाँदा देश र जनतामाथि घात हुन्छ भनेर सम्झाउन खोज्दा पनि सम्झेनन्’ उनले भने ‘आफूले जालझेल गर्न नपाएपछि भइरहेको प्रतिनिधिसभा नै भंग गरेर महान काम गरेको भन्दै हर्षबढाई गरिरहेका छन् ।’ उनले ओलीले जे भने पनि ताली पड्काउने उनका कार्यकर्ता भएकाले पनि ओलीमा नकारात्मक मनोवल बढेको बताएका छन् । ‘ती कार्यकर्ताले के ठीक, के बेठीक हो भन्ने बुझ्दैनन्, जे बोले पनि हाँसिदिन्छन् र रमाइलो मान्छन् त्यसको परिणाम यही हो’ नेता ज्ञवालीले भने ‘केही व्यक्ति कविता र चुट्किला सुन्न पाइन्छ भनेर पनि ओलीको पछि लागेका छन्, बुझेपछि फर्केर हाम्रैमा आउँछन् ।’
ज्ञवालीले आफूहरुले नेतृत्व गरेको पार्टी पाउने दाबी गरे । ‘सोमबार बसेको केन्द्रीय समितिको बैठकमा हामीसँग झण्डै २ सय ९० जना केन्द्रीय सदस्य थियौं, नियम अनुसार हामीले नै पार्टीको मान्यता पाउनेमा शंका छैन’ उनले भने ‘अहिले त ‘सेटिङ’ मिलाएको भनेर ओलीले भनिरहेका छन्, त्यो भनेको बेग्लै कुरा हो, कानुनले हामीलाई नै वैधता दिन्छ ।’

उनले ओलीले पार्टीमा आफू संकटमा परेपछि फौजका फौज केन्द्रीय सदस्य बनाएर आफ्नो बहुमत सिद्ध गर्न खोजेको पनि आरोप लगाए ।