Sunday, 11, July, 2021

अडान नभएपछि अलमलिँदै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनबारे आफ्नो प्रष्ट धारणा राख्न सकेको छैन । आफूलाई नेपालको ठूलो र जेठो पार्टी भएको दाबी गर्दै आएपनि आन्तरिक रुपमा पार्टी अलमलमा परेपछि पार्टीमाथि नै शंका सुरु भएको छ ।

प्रधानमन्त्रीले गत पौष ५ गते प्रतिनिधिसभा भंग गरेपछि कसैले पक्षमा त कसैले विपक्षमा आवाज राखेर आफ्नो धार प्रष्ट पारिसकेका छन् तर कांग्रेसजस्तो पार्टीले औपचारिक निर्णय नगर्नु त्योभन्दा ठूलो अर्को कमजोरी हुँदैन । प्रतिनिधिसभा विघटन भएपछि केही समय आन्दोलन गरेजस्तो गरेका कांग्रेसमा पनि मत विभाजन भएकाले पार्टीले अब कुन बाटो लिने भन्ने नै अडान लिन सकेको छैन । कांग्रेसका नेता, कार्यकर्ता तथा शुभचिन्तक भने कांग्रेसको अलमललाई लिएर आलोचना गर्न थालेका छन् । पार्टीले अबको भूमिका कस्तो खेल्ने भन्ने विषयमा पार्टी नेतृत्वसमेत चुपचाप छ । सभापति शेरबहादुर देउवाले ताजा जनादेशको पक्षमा बोलेका छन् भने उता वरिष्ठ नेता रामचन्द्र पौडेल पुनर्स्थापनाको लाइनमा छन् ।

५ वर्षसम्म विपक्षमा बस्न जनताले दिएको जनादेशलाई अस्विकार गर्दै ‘चोर बाटो’ बाट भए पनि प्रधानमन्त्री भएर शासन चलाउँला भन्ने सोचमा पुगेका छन् देउवा । नेकपामा देखिएको आन्तरिक झगडाले पार्टी विभाजनको संघारमा पुगेपछि त्यसको फाइदा उठाउने सोचमा कांग्रेसका मुख्य नेताहरु भित्रभित्रै लागिपरेका छन् । वरिष्ठ नेता पौडेल प्रतिनिधिसभा पुनर्स्थापना भए सरकार ढल्ने र त्यसपछि नयाँ समीकरणमा आफू राष्ट्रपति बन्न पाइन्छ कि भनेर लागेका छन् । केही दिनअघि नेकपाका पुष्पकमल दाहाल र माधवकुमार नेपालले पौडेललाई भेटेर यस्तो आश्वासन दिइसकेकाले पौडेल यो अडानबाट पछि हट्ने पक्षमा छैनन् । पौडेललाई फेरि पनि संसदीय निर्वाचन जितेर आइन्छ कि आइदैन भन्ने आफैंमा विश्वास नभएकाले पनि उनी ‘फास्ट ट्रयाक’ बाट छिटो यात्रा गर्न खोजिरहेका छन् । उता देउवा भने आफू डडेलधुराबाट जसरी भए पनि निर्वाचन जितेर आउने र कांग्रेस ठूलो पार्टी बनेपछि आफू स्वभाविक रुपमा प्रधानमन्त्री बन्छु भन्ने दाउमा छन् । नेताहरुको आ–आफ्नै स्वार्थले पार्टी भने थप संकटमा परेको छ ।

यत्रो ठूलो पार्टी भनिए पनि बेलामा उपयुक्त निर्णय गर्न नसकेकाले कांग्रेसको सधैं आलोचना हुँदै आएको छ । पार्टीको निर्णय नआउँदा अब के बोल्ने भनेर कांग्रेस नेता तथा कार्यकर्ता पनि अलमलमा परेका छन् । देउवा प्रधानमन्त्री ओलीविरुद्ध आन्दोलन गर्न चाहँदैनथे तर पौडेलको दवावमा नै उनले पनि आन्दोलन भन्न बाध्य हुनुपरेको हो । प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतमा वहस भइरहेको छ । कांग्रेसले तत्कालै कुनै निर्णय गर्न नसकेपछि सर्वोच्चको फैसला हेरेपछि मात्र आफ्नो कदम चाल्ने भन्दै सजिलो बाटो अपनाउँदै आएको छ ।

देउवाले अडान लिन नसक्दा सडक आन्दोलन गरेर सर्वोच्चलाई प्रभावित गर्ने पक्षमा कांग्रेस नरहेको र उपयुक्त समयमा सही निर्णय गर्ने देउवाले बताउँदै आएका छन् ।