Monday, 01, March, 2021

राजनीतिक स्वार्थमा मात्र बोल्दै नागरिक समाज

काठमाडौं । बेलामौकामा नागरिक समाजका अगुवा भन्दै सडकमा आउने गरेका छन् । उनीहरु खासगरी जनताको पक्षमा आवाज उठाउनुभन्दा पनि आफ्नै सीमित फाइदाका लागि सडकमा आउने गरेका धेरै उदाहरण छन् ।

सोमबार नागरिक समाजका नाममा बालुवाटार आसपास धर्ना र कोणसभा गरियो । प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसैको विरोधमा भन्दै सडकमा आएका उनीहरुले सरकारविरुद्ध चर्को नाराबाजी गरे, अवस्था असहज बन्दै गएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले पक्राउ गरेपछि त्यसको विरोधमा पनि उनीहरु थप प्रदर्शनमा उत्रिए । वास्तवमा उनीहरु स्वतन्त्र व्यक्ति नभएको र कतै न कतै कोहीसँग आवद्ध नभएको र भित्रभित्रै राजनीतिक घुसपेठ भएको पनि भनिएको छ । नागरिक समाज भन्न के हुनुपर्छ र त्यसको मापदण्ड के हो भन्ने कसैले पनि भन्न सकेको छैन । नागरिक समाज भनिन कुनै पनि राजनीतिक आस्थाबाट बाहिर हुनुपर्छ तर त्यहाँ त त्यसो नभएर प्रष्ट रुपमा राजनीतिक पहिचान भएकाहरु नै खुलमखुला देखिन्थे । नागरिक समाजका नाममा यसअघि पनि पटकपटक राजनीतिक आन्दोलन भएका थिए तर ती सबै कतै न कतैबाट परिचालित भएको भनिँदै आइएको छ । उनीहरुले सबै नागरिकको शिक्षा, स्वास्थ्य, रोजगारी, मानव अधिकार, मौलिक अधिकारका विषयमा आवाज उठाउनुपर्ने हो तर त्यसको सट्टा राजनीतिक फाइदाका लागिमात्र सडकमा आउँदा उनीहरु पनि शंकाको घेरमा परेका छन् ।

प्रधानमन्त्री प्रतिनिधिसभा विघटन गरेपछि एकाएक सडकमा आएका उनीहरुको लक्ष्य र उद्येश्य के हो भन्ने सबैभन्दा पहिले बुझ्नुपर्दछ । हुन त सबैजसो कुनै न कुनै देश, समूह वा स्वार्थी विचारसँग आवद्ध छन् र उनीहरुले आफ्नो स्वार्थका लागिमात्र सडकमा मान्छे भेला गर्ने गरेको आरोप लाग्दै आएको छ । उनीहरु जनताले दैनिक जीवन गुजारा चलाउन नसक्दा, भ्रष्टाचार, हत्या, हिंसा र अराजकता हुँदा कहाँ जान्छन् ? र राजनीतिक द्धन्द्धमा मात्र सडकमा आउँछन् भन्ने मुख्य प्रश्न खडा भएको छ । अधिकांशहरु कुनै देशसँग नजिक भएर उसकै पैसामा आफ्नो अभियान चलाउँदै आएका छन्, उनीहरु डलरमा बिकेका छन् । त्यतिमात्र होइन उनीहरुले क्षणभरमै नेपालको सूचना बाहिर बेच्ने गरेका पनि छन् । देश र जनताको हित नचिताएर अरुको स्वार्थका लागि नेपालमा बसेर काम गर्ने यस्ता विभिन्न नामका संघसंस्था र समूहलाई भने सरकार र सम्वन्धित निकायले चिन्नु जरुरी छ ।

बाहिर देख्दा एउटा रुप देखिने तर भित्री व्यवहारमा भने अर्कै रुप धारण गरेकाहरुले कहिल्यै पनि देशको भलो चाहँदैनन् । नागरिक समाजको आन्दोलन र जुलुस भनेपछि सर्वसाधरणले पनि समर्थन जनाउने चलन छ तर उनीहरु पनि कति स्वच्छ कुन् कि होइनन् भनेर खोजी गर्नुपर्ने बेला भएको छ । सरकारले चालेका हरेक कदम नागरिकलाई चित्त बुझ्नुपर्छ भन्ने छैन तर केही फरक मत राख्ने भन्दैमा सडकमा उत्रिएर प्रदर्शन गर्नु त्यति व्यवहारिक हुँदैन ।

राजनीतिक घटना तलमाथि हुँदा मात्र सडकमा आउने र कुनै पक्षको बारेमा खुलेरै लाग्ने र अर्को पक्षलाई सक्दो गाली गरेर आफूलाई आदर्श नागरिक देखाउने काम बन्द गर्नुपर्छ ।