Friday, 07, May, 2021

ओली किन गए पशुपति ?

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीले सोमबार बिहान पत्नी राधा शाक्यसहित पशुपतिनाथको दर्शन गरेका छन् । उनको पशुपतिको यात्रालाई राजनीतिक रुपमा पनि निकै महत्वका साथ हेरिएको छ ।

यो विषयलाई लिएर सबैले आ–आफ्नै ढंगले व्याख्या गरेका छन् । ओली पछिल्लो समयमा पशुपतिनाथको दर्शन गर्न गएका थिएनन् । पशुपतिको दर्शन गरेपछि चिताएको कुरा पुग्ने र आफ्नो भाकल पनि पूरा हुने विश्वास गरिँदै आइएको छ । राजावादी र हिन्दुराष्ट्रको अभियानमा लागेकहरुले भने ओलीले हिन्दुराष्ट्र चाहेको भनेर अर्थ्याएका छन् । हिन्दूराष्ट्रको पक्षमा सडकमा समेत चर्को आवाज उठिरेहका बेला कार्यकारी प्रमुखको यो दर्शनलाई निकै महत्वका साथ हेरिएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बलबहादुर केसीले भने ओलीले अहिले राजनीतिक रुपमा देश र जनतामाथि अपराध गरेकाले त्यसैबाट मुक्ति पाउँ भनेर दर्शन गरेको टिप्पणी गरेका छन् । नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग अन्तरवार्ता दिँदै उनले ओलीले राजनीतिक बेइमानी गरेको र माफी माग्न पशुपति भएको स्पष्ट पारे । केसीले ओलीको कदमको देशलाई घाटा भएको र राजनीतिक रुपमा नै थप संकट देखापर्ने खतरा रहेको समेत औंल्याए । आफूसँग झण्डै दुई तिहाई भएको प्रतिनिधिसभा भंग गरेपछि ओली आलोचित बन्दै आएका छन् ।