Sunday, 09, May, 2021

प्रचण्डले ऐनामा अनुहार हेर्न ओलीलाई किन दिए सुझाव ?

काठमाडौं । नेकपाका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्को नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो अनुहार एकपटक ऐनामा हेर्न सुझाव दिएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले ओलीको योजनामा नै पार्टीले अहिले संकट भोगेको पनि स्पष्ट पारे । प्रचण्डले ओलीलाई खोक्रो राष्ट्रवादको नारा लगाएर सत्तामा टिकिरहने प्रयास गरेको पनि आरोप लगाए । उनले प्रतिनिधिसभा विघटन गरेपछि ओली हरेक दृष्टिकोणले कमजोर भएकाले अब उनको हातमा केही पनि नरहेको समेत दाबी गरे । आफ्नै अहंकार र दम्भले ओलीको पतनको बाटो सुरु भएको भन्दै प्रचण्डले ओलीलाई आफू पार्टीको हरेक कमिटीमा बहुमतमा छु भनेर भने पनि बैठकमा र छलफलमा किन आउनुभएन ? भनेर पनि प्रश्न गरे ।
प्रचण्डले निर्वाचन आयोग र सर्वोच्च अदालतमा ओलीको ‘सेटिङ’ छ भन्ने कुरा के हो ? भनेर पनि प्रश्न उठाए । प्रचण्डले आयोग र अदालतप्रति आफू विश्वस्त रहेको पनि जनाए । गत वैशाखमा नै पार्टी फुटाउने चालबाजी गरेर ओलीले अध्यादेश ल्याएको भए पनि आफ्नै पहलबाट रोकिएको र अहिले आएर त्यस्तै कदम चालेकोमा समेत आपत्ति जनाए ।

गत साउनमा ओलीको सल्लाहमा निर्वाचन आयोगमा नेकपा एमाले नामको पार्टी दर्ता गराएर ओलीले गलत गरेको पनि बताए । आफूले जनताको पक्षमा काम गर्न नसकेर सधैं आलोचित भइरहेका बेला ओलीले पार्टीकै साथीहरुले आफूलाई असहयोग गरेको भन्दै आएका छन् ।