Tuesday, 02, March, 2021

राष्ट्रपति बन्ने दाउमा रामचन्द्र, प्रधानमन्त्रीको लोभ गर्दै देउवा

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन भएपछि पार्टीले अब के निर्णय लिन्छ भन्नेमा टुंगो लगाउन सकेको छैन । नेताहरुका फरकफरक अभिव्यक्ति आएपछि कांग्रेसमात्र होइन जनता पनि अन्यौलमा परेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा ताजा जनादेशको पक्षमा छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा छन् । पुनर्स्थापना भए सरकार ढल्ने र नयाँ सहमतिमा आफू राष्ट्रपति बन्ने दाउमा छन् पौडले । यसअघि नै नेकपाको दाहाल–नेपाल समूहले पौडेललाई भेटेर राष्ट्रपति बनाउने आश्वासन दिइसकेको छ । पौडेल तनहुँ–१ बाट प्रतिनिधिसभामा पराजित भएका थिए । कांग्रेसको महाधिवेशनमा सभापति पनि जित्ने सम्भावना नभएको र अर्को निर्वाचन पनि जितिन्छ कि जितिँदैन भन्ने टुंगो नभएपछि पौडेलले सजिलो बाटो यही हुन्छ भनेर रोजेका छन् । प्रतिनिधिसभा पुनर्स्थापना भएपछि ओली सरकारविरुद्ध दाहाल–नेपाल समूूहले अविश्वासको प्रस्ताव पेश गर्ने र असफल भएपछि सरकार परिवर्तन हुने दाउमा छ दाहाल–नेपाल समूह ।

ओलीको पछि लागेर संविधान मिचेको आरोप खेप्दै आएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि महाअभियोग लगाएर हटाउने दाउमा छ दाहाल–नेपाल समूह । उता देउवा भने निर्वाचनमा कांग्रेस ठूलो पार्टी बन्ने भएकाले आफू नै प्रधानमन्त्री हुन पाउँछु भन्ने सोचमा छन् । प्रतिनिधिसभाको गत निर्वाचनमा चुनावी प्रचार प्रसारको क्रममा ज्योतिषले आफूलाई सात पटकसम्म प्रधानमन्त्री हुन्छस् भनेर भनेको भन्दै आएका देउवा चारपटक प्रधानमन्त्री भइसकेका छन् । देउवाले २०४८ सालदेखि निरन्तर संसदीय निर्वाचन जित्दै आएका छन् ।

प्रतिनिधिसभा विघटनको विरुद्धमा नेपाली कांग्रेसले गरेको आन्दोलनमा देउवा सकारात्मक छैनन् । पौडेलको दवावमा नै देउवा पनि देखावटी रुपमा आन्दोलनमा गइदिएका हुन् । पौडेललाई आफ्नै गृहजिल्लामा एक पुल उद्घाटन गर्न जाने क्रममा अवरोध भएपछि कांग्रेस त्यसको विरुद्धमा गएको थियो । कांग्रेसले संसदमा प्रमुख प्रतिपक्षको भूमिका खेल्न नसकेको आरोप लाग्दै आएको छ । देउवा र प्रधानमन्त्री ओलीको आन्तरिक सेटिङमा सरकार चलेकाले देउवा चुपचाप लाग्ने गरेको आरोप पनि लगाइएको छ ।