Tuesday, 19, January, 2021

हामीमात्र सक्कली माओवादी हौं – अध्यक्ष कर्णजित बुढाथोकी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष कर्णजित बुढाथोकीले वास्तविक माओवादी आफैं भएको बताएका छन् ।

आज काठमाडौंमा आयोजित तीनवटा पार्टीको एकीकरण कार्यक्रममा बोल्दै अरु पार्टीले माओवादी भनेर भन्दै आएपनि उनीहरुमा वास्तविक रुपमा माओवादी विचार र सिद्धान्त नभएको दाबी गरे । ‘हामी जनताको हकहितमा लाग्छौं, अरु पार्टीले पनि माओवाद विचार बोकेको भनेपनि उनीहरु सैद्धान्तिक रुपमा विचलन भइसके ’ उनले भने ‘ नेकपामा भएको विवादलाई लिएर नेपालमा कम्युनिष्ट सकिए भन्छन्, हामी जिउँदै छौं, सबैको विश्वास जितेर जान्छौं ।’ उनले आफूहरुमात्र सक्कली माओवादी भएको स्पष्ट पारेका छन् ।

माओवादी जनमुक्ति पार्टी नेपाल, नेकपा संयुक्त (क्रान्तिकारी) र बुढाथोकी नेतृत्वको नेकपा (माओवादी केन्द्र) बीच एकता भएर पार्टीको नाम नेकपा (माओवादी केन्द्र) नै बनेको पार्टी सचिव अरुण घिसिङले जनाए ।

उनले पार्टीले अब नयाँ गति लिने दाबी गरे । ‘हिजो हाम्रो पार्टीमा केही समस्या थियो अब त्यस्तो छैन, पार्टीले सधैं देश र जनताका विषय उठाउँछ’ घिसिङले भने ‘हाम्रो पार्टीका पूर्व अध्यक्ष गोपाल किराँतीमा वैचारिक रुपमा विचलन भएपछि, राजनीतिक अकर्मण्यता देखाएपछि र सांगठनिक अराजकतामा लागेपछि उहाँलाई अध्यक्षबाट हटाएका हौं ।’


पार्टीले पौष २९ गते विराटनगर, माघ ३ गते काभ्रेको बनेपा, ६ गते सुर्खेतमा कार्यक्रम गर्ने जनाएको छ । पार्टीले माघ १२ गते काठमाडौंमा वाइसिएल भेला गर्ने भएको छ ।