Wednesday, 01, December, 2021

एउटै भाषा बोल्दै माथिदेखि तलसम्म ओली गुट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पद बचाउन नै प्रतिनिधिसभा विघटन गरेका छन् । संविधानले नदिएको अधिकार प्रयोग गरेका उनले आफ्नो कदम वैध भएको भन्दै तर्क दिने गरेका छन् ।

संविधानलाई मानेर जानुपर्नेमा प्रधानमन्त्री ओली भने जुनसुकै ढंगले पनि संविधानमाथि प्रहार गरेर अस्थिरता निम्त्याउने काममा मात्र लागेका छन् । उनको कदमलाई लिएर सर्वत्र आलोचना भए पनि उनी आफू र आफ्ना वरिपरिकालाई कडा ढंगले यसको पक्षमा लाग्न आग्रह गर्दै कार्यकर्तालाई पनि त्यस्तै सिकाएका छन् । यसअघिको संविधानमा प्रधानमन्त्रीले जहिले चाहे पनि प्रतिनिधिसभा विघटन गर्न पाउने व्यवस्था गरिएकाले पनि ओलीले त्यसैलाई आधार मानेका छन् भन्दा फरक पर्दैन तर वर्तमान संविधानमा सधैं अस्थिर सरकार भएको भन्दै नयाँ प्रावधान थपिएको चाँहि ओलीले बिर्सेका छन् । उनले अरु कोहीसँग सल्लाह नै नगरी लिएको गलत निर्णयले उनी पनि पछुताउने बेला भएको छ ।
पार्टीभित्रै अविश्वास खेप्दै आएका ओलीले पार्टीलाई बलियो बनाउँदै आन्तरिक संघर्षलाई व्यवस्थापन गर्नुको सट्टा जनताको आवाज उठाउने थलो नै भंग गरेर जनताको अधिकारमाथि प्रहार गरेका छन् ।

संविधानमा कुनै पनि अवस्थामा प्रधानमन्त्री बन्न नसक्ने अवस्था आए संसद भंग गर्न सकिने व्यवस्था छ तर ओलीले भने फड्को मारेर  प्रतिनिधिसभा भंग गरेका छन् । उनले आफूविरुद्ध बोल्ने कसैलाई पनि राम्रो नजरले नहेर्ने भएकाले पनि यो अवस्थापछि आनन्दको श्वास फेरेका छन् । पार्टीमा पनि आफू अल्पमतमा परेपछि कुनै पनि बैठकमा जाने नगरेका उनले आफूमात्र सरकार भएको र आफूले बोलेको कुरामात्र पार्टीको आधिकारिक निर्णय भएको भन्दै जस्तोसुकै निर्णय पनि लिने गरेका छन् ।

पार्टीभित्रको अर्को पक्षलाई मिलाउन नसक्दा उनले गलत कदम चालेका छन् । प्रधानमन्त्रीमा आलोपालो गर्ने पार्टी एकता हुँदाको प्रचण्डसँगको सहमति मान्ने बेलासम्म नेकपामा आन्तरिक समीकरण बलियो भए पनि यो अवस्था आएपछि मतभेद हुँदै आएको थियो । ओलीले प्रचण्डलाई प्रधानमन्त्री छोड्न तयार नभएको अभिव्यक्ति दिएपछि शक्ति संघर्ष झनै चर्किएको हो । पार्टी एकता हुँदा जनतामा दिएका आश्वासन कार्यान्वयन गर्न नसकेका ओलीलाई फेरि पनि जनताको मत आउला र आफू शासक बनौला भन्ने पनि लाग्न छोडिसकेको हुनुपर्छ । पार्टी विभाजन औपचारिक रुपमा भइसकेको छैन, कुनै कारणले पछि मिलेपनि यो तिक्तता र मनमुटाव भने आगामी निर्वाचनमा पनि प्रष्ट रुपमा देखिने छ ।
पटकपटक जनताले कुनै राजनीतिक दललाई अवसर दिने गरेका छन्, उसले काम गर्न नसकेको खण्डमा फेरि पनि अर्को विकल्प खोज्छन् । एकपटकलाई ढाँट्न सकिए पनि सधैं ढाँट्न सकिएला भन्ने सोच बनाएका राजनीतिक दलहरु भने विभिन्न घटनाक्रम अनुसार चुक्दै आएका छन् । ओली भने सर्वोच्च अदालतले आफूलाई न्याया दिन्छ भन्ने ढुक्क छन् ।