Sunday, 11, July, 2021

निर्वाचनमा जाने कि आन्दोलनमा भन्नेमा कांग्रेस अन्यौल

काठमाडौं । प्रतिनिधिसभा विघटन भएपछि संसदमा प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली कांग्रेस केही दिन अलमलमै रहयो । सरकारको कदमको विरुद्धमा आन्दोलन गर्ने कि प्रधानमन्त्रीको यो कदमको समर्थन गर्ने भन्ने टुंगोमा पुग्न नसक्दा कांग्रेस फेरि पनि आलोचित बन्यो ।

कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच अत्यन्तै राम्रो सम्वन्ध रहेकाले पनि कांग्रेसले तत्कालै निर्णय गर्न नसकेको प्रष्ट हुन्छ । देउवा र ओलीबीच हरेक राजनीतिक विषयमा राम्रै छलफल हुन्छ । धेरैजसोले त देउवासँगको सहमतिमा नै प्रतिनिधिसभा भंग गरिएको पनि बताउँदै आएका छन् । ओलीलाई आफूभित्रैबाट षडयन्त्र हुँदा उनी तत्कालै देउवालाई भेटेर आफ्नो गुनासो राख्ने गरेका छन् । देउवा पनि पद, पैसा र प्रतिष्ठा भनेपछि मरिहत्ते गर्ने भएकाले ओलीलाई पनि हरेक कुरामा ‘सेटिङ’ मिलाउन सजिलो भएको छ भनेर भन्न सकिन्छ । राम्रो कामको लागि दलहरुबीच छलफल नभए पनि बाँडी खाने कुरामा सबै मिल्ने गरेका उदाहरुणहरु प्रशस्तै छन् । कांग्रेस प्रमुख प्रतिपक्षीको रुपमा रहनु ओलीको लागि पनि सुखद् कुरा हो ।

कांग्रेसले प्रमुख प्रतिपक्षीको रुपमा आफ्नो भूमिका पनि खेल्न नसकेकाले ओलीले कांग्रेसलाई खासै मतलव पनि गरेका छैनन् । ओली त धेरैजसो कार्यक्रममा ‘नेपालमा पनि कांग्रेस छ र’ भनेर होच्याएर समेत बोल्ने गर्छन्, यस विषयमा कांग्रेसले प्रतिकार गर्नसमेत सकेको छैन । देउवा नरम भएर हिँडेपछि पार्टीभित्रै उनलाई आन्दोलनमा जान दवाव परेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले पटकपटक उनलाई आन्दोलनमा जान अनुरोध गर्नुपरेको छ , कहिलेकाँही पौडेलकै चित्त बुझाउन मात्र भए पनि देउवाले आन्दोलनको घोषणा गर्ने गरेका छन् । कांग्रेस भने आफू अरुजस्तो अराजक भएर प्रतिपक्षीको भूमिका नखेल्ने भन्दै आएको छ । कांग्रेसको कमजोर प्रस्तुतीलाई लिएर विपक्षीले पनि अवसरको रुपमा प्रयोग गर्दै आएको छ ।

प्रतिनिधिसभा विघटनको विषय सर्वोच्च अदालतमा पुगिसकेकाले अदालतको निर्णय पर्खिने पनि कांग्रेसले जनाएको छ । अदालतलाई प्रभाव पार्ने, धम्क्याउने वा अन्य खालका कुनै पनि संघर्षका कार्यक्रम नगर्ने देउवाले यसअघि नै बताइसकेका छन् । निर्वाचनमा गए कांग्रेसलाई थोरै भए पनि फाइदा हुने भए पनि कांग्रेसले यसबारे मुखै खोलेर भन्न पनि सकेको छैन ।