Tuesday, 20, April, 2021

राष्ट्रपति र प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गरेर गल्ती गरे – सांसद प्रकाशचन्द्र दवाडी

काठमाडौ । गोरखा २ (२) बाट निर्वाचित प्रदेशसभाका नेपाली कांग्रेसका सांसद प्रकाशचन्द्र दवाडीले राष्ट्रपति विद्यादेवी सम्मानित हुन नसक्नु भएको बताएका छन् । उनले राष्ट्रपति र प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गरेर गल्ती गरेको स्पष्ट पारेका छन् ।

‘राष्ट्रपति भनेको सबैको विश्वासिलो र अभिभावक बन्नुपर्ने हो तर उहाँका क्रियाकलाप हेर्दा त्यस्तो देखिएन, संविधानविपरीत गएर निर्णय लिनु हुँदैनथ्यो ’ प्रतिनिधिसभा विघटनबारे उनले भने ‘ प्रधानमन्त्रीले संविधानलाई किल्चिएर प्रतिनिधिसभा भंग गर्नुभएको छ, प्रधानमन्त्रीले आफ्नो स्वार्थका लागि जे जे गरे पनि राष्ट्रपतिले यो प्रक्रिया गलत छ भनेर रोक्नुपर्दथ्यो ।’ सांसद दवाडीले नेकपा सरकारको यो क्रियाकलापप्रति जनता निराश भएको बताएका छन् । ‘सरकारले राम्रो काम गर्ला, हाम्रो दुःख बुझ्ला भनेर जनताले नेकपालाई मतदान गरेका थिए, सरकारप्रतिको आस्था रहेन जनतामा ’ आफ्नो निर्वाचन क्षेत्रमा रहेका उनले भने ‘ मिल्ने भए आजै नेकपालाई दिएको मत फिर्ता माग्थे जनताले, हामीले मतदान गरेर त्यतिबेला ठूलो गल्ती गरेछौं भन्छन् हिजो नेकपामा मतदान गर्नेहरु ।’सांसद दवाडी सधैं जनताको गुनासो सुन्न गाउँ नै पुग्ने गरेका छन् ।

संसदको बैठक हुँदा पोखरा हुने र कहिलेकाहीँ विकास निर्माणका काम लिएर काठमाडौं आइजाई गर्ने भए पनि धेरैजसो समय जनतासँगै भएको उनी बताउँछन् । जनताले आफ्नो क्षेत्रको विकासको जिम्मा दिएकाले गाउँ गएर सबैको पीडा र आवश्यकता के छ त्यो सुनिरहेको उनले बताए । अलिकति फुर्सद हुनेबित्तिकै उनी आफ्नो निर्वाचन क्षेत्र पुगिहाल्छन् । उनी गाउँका कुनाकुना पुगेर सबै नागरिकसँग भेट गर्ने गर्छन् । क्षेत्रमा परेका समस्याको बारेमा कहिले व्यक्तिगत त कहिले सामूहिक रुपमा छलफल गर्ने गरेका उनी नागरिकको चित्त बुझ्ने गरी काम गर्ने आफ्नो एकमात्र लक्ष्य भएको बताउँछन् । युवा नेता दवाडी सबैलाई समान ढंगले व्यवहार गर्न पनि जान्दछन् ।

‘जनताले मलाई जिताएर पठाउनुभयो , अब उहाँहरुको काम सकियो, उहाँहरुको भावनालाई सम्वोधन गर्ने दायित्व मेरो हो ’ उनी भन्छन् ‘धेरैजसो नेताहरु निर्वाचन जितेपछि फेरि गाउँ फर्कदैनन् र जनताले आलोचना गर्छन् तर म बढी जाने भएपछि कति धेरै आएको भन्ने बेला भइसक्यो ।’ क्षेत्रमा गएर स्थानीयसँग अन्तरक्रिया गर्नुका साथै विकास निर्माणका बारेमा छलफल गर्नु उनको दैनिकीजस्तै भएको छ । ‘म जे गर्न सक्छु त्यही गर्छु, नचाहिने गफ गरेर जनतामा भ्रम छर्न र आश्वासन दिएर ढाँट्न आउँदैन’ उनले भने ‘ म जनताको प्रतिनिधि हुँ, मैले निर्वाचनमा जाँदा जे भनेको थिएँ त्यो वाचा आफ्नो कार्याकालमा पूरा गरेर देखाउँछु ।’

पहिलोपटक नै निर्वाचनमा उम्मेदवार भएका उनले सम्मानजनक मत ल्याएर जितेका हुन् । उनले आफू भ्रष्टाचार नगर्ने र अरुले गरेको पनि देख्न नसक्ने दाबी गर्दै आएका छन् । ‘मैले भ्रष्टाचार र अनियमितता गरेको प्रमाण भए ल्याउनुहोस्, म आज नै राजीनामा दिन्छु र राजनीति छोडिदिन्छु ’ उनी पटकपटक खुलेआम रुपमा भन्दै आएका छन् । उनले आफ्नो व्यक्तिगत तर्फबाट पनि क्षेत्रमा विकास गरेका छन् ।