Friday, 22, January, 2021

पैदलयात्रुलाई ठक्कर दिएपछि मन्त्री प्रभु साह फरार, आफूविरुद्ध गलत प्रचार गरिएको मन्त्रीको भनाई

रौतहट । सहरी विकास मन्त्री प्रभु साह सवार गाडीले सर्लाहीमा एक सर्वसाधारणलाई आज ठक्कर दिएको छ ।

ठक्कर दिएपछि मन्त्री साह भागेको जनाइएको छ । प्रहरीका अनुसार ना १ झ ३८४२ नम्बरको मन्त्री साह सवार गाडीले सर्लाहीको हरिवन नगरपालिका– १० मा ठक्कर दिएको थियो ।

दुर्घटनामा लालबन्दी नगरपालिका ८ का ३० वर्षीय बच्चु तामाङ घाइते भएका छन् । घाइतेको सर्लाहीकोे हरिवनस्थित स्वाभिमान अस्पतालमा उपचार भइरहेको जनाइएको छ । घाइतेको कम्मर र ढाडमा चोट लागेको छ । उनको अवस्था गम्भीर भए आजै काठमाडौं ल्याउने प्रहरीले जनाएको छ ।

मन्त्री साहले भने आफ्नो गाडीले ती यात्रुलाई ठक्कर नदिएको प्रतिक्रिया दिएका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै आफूविरुद्ध गलत प्रचारवाजी गरिएको भन्दै आपत्ति समेत जनाएका छन् । दुई साताअघि प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई पनि आफ्नै प्रदेश रहेको मोरङमा सडकमा दुइजना मानिस दुर्घटनामा परेर सडकमा छटपटाइरहेका बेला त्यसलाई वास्तै नगरी लेन मिचेर अर्को तर्फबाट हुँइकिएपछि निकै आलोचित भएका थिए ।

मन्त्री सवार गाडी अत्यन्तै तीव्र गतिमा हुँइकिने भएकाले पनि दुर्घटना हुने गरेको छ तर कतिपय दुर्घटनाका समाचार भने बाहिर पनि आउँदैनन् ।