Saturday, 23, January, 2021

संविधान ओलीको जीवनकथा होइन– सांसद प्रजा

काठमाडौं । बागमती प्रदेशका नेपाली कांग्रेसका सांसद सन्तबहादुर प्रजाले संविधान प्रधानमन्त्री केपी शर्मा ओलीको जीवनकथा नभएकाले जतिबेला जे गर्न मन लाग्यो त्यो गर्न नपाइने बताएका छन् ।

उनले प्रधानमन्त्रीले संविधानलाई गलत प्रयोग गरेको र यसको परिणाम पनि छिट्टै भोग्नुपर्ने बताए । ‘संविधान देशको मूल कानुन हो, जसलाई जे मन लाग्छ त्यो गर्ने अधिकार कसैलाई छैन, प्रधानमन्त्रीलाई अप्ठेरो परो भन्दैमा मान्दिन भन्न मिल्छ र ?’ उनले भने ‘प्रधानमन्त्रीले कहाँको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा भंग गर्दै संविधानमाथि प्रहार गरेका छन् जनतालाई छिट्टै जवाफ दिइयोस् ।’ उनले प्रतिनिधिसभाको पुनस्र्थापना नै एकमात्र विकल्प भएकोमा जोड दिए ।

‘फेरि निर्वाचन हुँदा कांग्रेसलाई फाइदा छ भन्ने हामीले बुझेका छौं तर गलत सिस्टम बस्यो भने देशमा ठूलो संकट आउँछ त्यसबाट जोगाउनु छ’ उनले थपे ‘ नेकपाले आफूलाई प्राप्त जनमत र जनताको विश्वास जोगाउन सकेन, त्यसको परिणाम निर्वाचनमा देखिन्छ ।’ बागमती प्रदेशमा प्रदेश सरकारमाथि अविश्वासको प्रस्ताव दर्ता भएको विषयमा उनले कुनै टिप्पणी गरेनन् । ‘त्यो उहाँहरुको कुरा हो, सरकार बनाए पनि ढलाए पनि तत्काल कांग्रेसले सरकार बनाउने अवस्था नभएकाले खासै मतलव गरेका छैनौं’ उनले भने ‘ उनीहरुको आन्तरिक विवादले देश खतरामा जानु हुँदैन, केही तलमाथि भयो भने नेकपाले जिम्मा लिनुपर्छ ।’

उनले झण्डै ३ वर्षको कार्यकालमा जनताको हित र विकास निर्माणको पक्षमा सक्रिय सहभागी रहेको दाबी गरे । सधैं गाउँघरको जनतासँगै रहने बताउने उनी जबसम्म जनताको सानोभन्दा सानो काम गरेर मन जित्न सकिँदैन तबसम्म ठूलाठूला राजनीतिक गफ गर्नुको अर्थ नरहने बताउँछन् ।