Tuesday, 19, January, 2021

फन्ट बोर्ड र इपिएफ् नेपालको सहयोगमा धादिङ ज्यामरुङ (जुडी) खानेपानी तथा सरसफाइ आयोजनाको निर्माण सम्पन्न

काठमाडौ । धादिङ ज्यामरुङ्ग (जुडी) खानेपानी तथा सरसफाइ आयोजनाको निर्माण सम्पन्न भएको छ । एपिएफ् नेपाल, फन्ट बोर्ड र निलकण्ठ नगरपालिका ११ को संयुक्त आयोजनामा ७६ लाखको लागतमा आयोजना निर्माण सम्पन्न भएको निलकण्ठ नगरपालिकाले जनाएको छ ।

ज्यामरुङ्ग (जुडी) खानेपानी उपभोक्ता समितिका अध्यक्ष दिपक धमलाको नेतृत्वमा तथा पर्यावरण संरक्षण नेपालका अध्यक्ष राकेश धमला , नेपाली कांग्रेस धादिङका सभापति रमेश धमला र नगरपालिका ११ का स्थानीय उपभोक्ताको सहयोगमा निमार्ण सम्पन्न भएको जनाएको छ । यो खानेपानी आयोजानाबाट १ सय ९८ घरधुरी लाभान्वित हुने छन् ।

पुर्वमन्त्री कल्पना धमलाले आयोजनाको सुरुवात गरेकी थिइन् । उनी २०६४ सालको संविधानसभामा धादिङबाट निर्वाचित भएकी थिइन् । तत्कालीन माओवादीको तर्फबाट निर्वाचित भएकी उनले आफ्नो कार्यकालमा जिल्लाको विकासको लागि महत्वपूर्ण योगदान गरेको बताएकी छिन् । उनी अहिले नेकपाकी केन्द्रीय सदस्य हुन् । पूर्वमन्त्री धमलाले खानेपानीलाई निरन्तरता दिन र यसको व्यवस्थापनका निमित्त उपभोत्ता समिति र स्थानीय जिम्मेवार हुनु पर्नेमा जोड दिइन् । पूर्वमन्त्री धमला विशेष अतिथिको रुपमा थिइन् । उनले आफू जन्मेको ठाउँको विकासका निमित्त जस्तोसुकै अवस्थामा पनि सहयोग गर्ने प्रतिबद्धता जनाइन् । ‘यहाँका नागरिकलाई स्वच्छ पानी खुवाउन र विकासका अन्य गतिविधिमा सहभागी गराउन म सधैं कटिबद्ध रहने छु’ उनले भनिन् । ज्यामरुङ्गलाई पर्यटकीयस्थल बनाउन तथा पर्यटन व्यवसायी सहित नमुना बस्ती बनाउनका लागि विशेष सहयोग गर्ने पनि उनको प्रतिबद्धता रहेको छ ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेसका जिल्ला सभापति रमेश धमलाले ज्यामरुङ्गमा खानेपानीको आवश्यकता महशुस गरेर नै आयोजनाको काम अघि बढेको र आज आएर निर्माण सम्पन्न हुनु सबैको खुसीको कुरा रहेको बताए । उनले यो आयोजनाबाट स्थानीय लाभान्वित हुनेमा पनि विश्वास गरे । विकास निर्माणका योजनामा कुनै पनि राजनीतिक गन्ध आउन नहुनेमा उनले जोड दिए । उनले स्थानीयहरुको सहयोगमा आयोजना सम्पन्न भएकोमा सबैलाई धन्यवाद समेत दिए ।

नीलकण्ठ नगरपालिका ११का अध्यक्ष तिलक बहादुर थापामगरले वडाको विकासको लागि आफू सँधै सक्रिय रहँदा आएको र आगामी दिनमा पनि वडावासीको सहयोग र समर्थन जरुरी रहेको बताए । उनले वडामा भएको बजेटलाई आवश्यकताका आधारमा विकास निर्माणको काममा विनियोजन गर्ने समेत स्पष्ट पारे । वडाले खानेपानीको लागि २ लाख पचास हजार रुपैयाँ दिएको थियो । उनले वडाले तरम भज्याङ् स्याउलीको सडकको स्त्तोरउन्नती तथा विकासका लागि ३० लाख छुट्याएको जानकारी दिए । उनले यो योजना पनि छिटै निर्माण हुनेमा विश्वस्त रहन वडावासीलाई आग्रह गरे ।

नयाँ उपभोक्ता समितिलाई खानेपानी हस्तान्तरण गरिएको छ । उपभोक्ता समिकिो अध्यक्षमा ईश्वरी बहादुर लम्साल, वरिष्ठ उपाध्यक्षमा ओम प्रसाद धमला, उपाध्यक्षमा गौरी शंकर धमला र सचिवमा भुमीनन्द धमला रहेको १३ सदस्यीय नयाँ कार्य समिति गठन गरिएको छ ।