Thursday, 28, January, 2021

ओलीको कार्यशैलीको विरोधमा कांग्रेसले १३ गते प्रदर्शन गर्ने

काठमाडौ । नेपाली कांग्रेसले पौष १३ गते सबै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने भएको छ । आज पार्टी कार्यालय सानेपामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनको असंवैधानिक एवं अलोकतान्त्रिक कदमको विरोधमा कांग्रेसले प्रदर्शन गर्न लागेको जनाएको छ । आजै बिहान वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले छिटो विरोधका कार्यक्रम सार्वजनिक गर्न माग गरेको थियो । हिजोको बैठकमा सभापति शेरबहादुर देउवाले १६ पुसमा मेलमिलाप दिवसको दिन आन्दोलन गर्नुपर्ने बताएका थिए । त्यो दिन पनि विरोधको कार्यक्रम रहेको कांग्रेसले जनाएको छ ।

नेकपाका प्रचण्ड–माधव समूहले पनि भोलिबाट पौष २५ गतेसम्म प्रतिनिधिसभा विघटनको विषयलाई लिएर आन्दोलन गर्ने भएको छ । तीन दिनसम्म चलेर आज सकिएको बैठकले यस्तो निर्णय गरेको हो ।