Sunday, 24, January, 2021

राजेश अहिराजले किन पठाए राष्ट्रपतिलाई खुलापत्र ?

काठमाडौ । चिनी मिलले उखु किसानको भुक्तानी नदिँदा मारमा परेका किसानहरु यतिबेला आफ्नो श्रमको मूल्यको माग गर्दै राजधानीमा आन्दोलनरत छन् । किसानहरुको आन्दोलनमा सुरुदेखि नै साथ दिँदै आएका राजनीतिक विश्लेषक, समाजसेवी डा. राजेस अहिराजले राष्ट्रपतिलाई लेखेको खुलापत्र जस्ताको त्यस्तै–                                                                                                                         महामहिम राष्ट्रपतिज्यू,                                                     मिति : २०७७।०९।०८
 राष्ट्रपति भवन, महाराजगन्ज, काठमाडौं ।                                                 
नेपालका उखु किसानहरू वर्षौंदेखि पीडा पाउँदै आएको कुरा यहाँलाई अवगत नै छ । आफ्नो उत्पादनलाई चिनी मिलमा बुझाएको वर्षौं भइसक्दा पनि उत्पादनको मूल्य नपाएको गुनासो हामीले सुन्दै आएका छौं । किसानको पीडा, ऋण, कृषिका समस्या, ज्याला, मिल व्यवस्थापनको बदमासी, विभिन्न शीर्षकका तौल कट्टी र बिलबमोजिमको पैसा नपाउँदा उखु किसानको जीवन नर्कमय भएको छ ।
साहुबाट ऋण खोजेर अर्काको खेतमा उखु उत्पादन गरेर वर्षौसम्म पैसा नपाउँदा निजी र पारिवारिक जीवन अस्तव्यस्त भएको रहेछ ।  मिल मालिकले दिएको पुर्जी र हिसाव बोकेर कहिले मिल मालिक, कहिले सामाजिक अगुवाको दैलोमा, कहिले सडकमा, कहिले आन्दोलनमा त कहिले उद्योग मन्त्रालयमा गुहार मागेको दिनचर्याको पनि वर्षौं भयो ।                
वर्षौंको आग्रह, सामूहिक दबाब र आन्दोलनका कारण गत वर्ष २०७६ पुस १८ गते उद्योग मन्त्रालयले पाँचबुँदे सम्झौता गरिदिएको कुरा यहाँलाई अवगत नै छ ।                               
लगातार चार वर्षको दौडधुपका कारण गत वर्ष सरकारले सम्झौता त गर्यो तर किसानहरूले पूरै पैसा पाउन सकेनन् । उल्टो विचौलिया, दलाल र नक्कली किसानको आरोप समेत सुन्नुपर्यो । ऋणको बोझ, आँखामा आशु र हजार सपना बोकेर किसानहरू काठमाडौं आए र महामहिम राष्ट्रपतिज्यूलाई २०७७ कार्तिक २४ गते भेटेर समेत सामूहिक रूपमा समस्या अवगत गराए ।                            
महामहिमज्यू, ‘उखुको बक्यौता लिन तपाइँहरूलाई काठमाडौं आउनु पर्दैन, सरकारसँग कुरा राख्छु । तपाइँहरू घर जानुस् ।’ भन्नुभयो । हर्षित हुँदै किसानहरू घर गए । हजुरमाथिको विश्वास मनमा साँचेर घर फर्के । तर किसानको खातामा पैसा गएन । मन्त्रालय, चिनी मिल व्यवस्थापन, मिल मालिक र साहु महाजनको घरदैलोमा कुद्दा–कुद्दा थकित र जिउँदो लासझैं भएका किसानहरू पुनः २०७७ मंसिर २८ गतेदेखि बक्यौता लिन काठमाडौंको माइतीघर मण्डलामा आन्दोलन थाले । आज यो आन्दोलनले समेत ११ दिन पार ग¥यो । गत वर्ष पुस–माघको जाडोमा १८ दिन काठमाडौंमा आन्दोलन गर्न बाध्य भएको कुरा यहाँलाई अवगत नै छ ।                                   
महामहिमज्यू,
किसानको आँशु, पसिना, पीडा र थकित जीवन हेर्दा मन नरूने को होला ? हाम्रा अन्नदाताको कथाले मन नपोल्ने को होला ? मिल मालिकको बदमासीका कारण कतिपय किसानको घरखेत लिलाम समेत भैसकेको छ । परिवारका कतिपय सदस्यहरू पैसाको अभावमा उपचार नपाएर मृत्युवरण समेत गरिसकेका रहेछन् । रोग र भोक बोकेर एकछाक मात्र खाएर भएपनि काठमाडौंमा आन्दोलन गर्न बाध्य किसानको पीडा कहिले र कसले सुनिदिने ? उनका आँशु कहिले पुछिने, उनका अनुहारमा खुशी कहिले दिने, उनलाई न्याय कहिले दिने ?                                               
महामहिमज्यू,
कृषि प्रधान देश नेपालमा उखु किसानको पीडा, समस्या र बाध्यता सुन्दा मन भावविहिल भएर आउँछ । बुढेसकाल प्रवेश गरिसकेका र कतिपय किसान ७५ वर्ष समेत काटिसकेका रैछन् । एक सरो लुगा, एकछाक खाना, काठमाडौंको चिसो, आँखामा आँशु र मनमा वेदना लिएर कति दिन भौतारिनुपर्ने ? आफ्नै मुलुकमा यो तहको पीडा पाउँदा उनलाई यो व्यवस्था, यो राज्य, यो संयन्त्र, यो जनप्रतिनिधि, यो पेशा र यो जीवनप्रति कस्तो अनुभूति भैरहेको होला ?                                                               
महामहिमज्यू,
उखु किसानको पीडा देखेर, सुनेर र बुझेर असह्य पीडा भएकोले यो पत्र लेख्न बाध्य भएको छु । किसानको आँशु यथाशीघ्र पुछियोस् ।

………………………….
डा.राजेश अहिराज