Sunday, 24, January, 2021

प्रतिनिधिसभा भंगको निर्णयको खारेजीको माग गर्दै नेकपाका पूर्व सांसद सर्वोच्चमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेको निर्णयलाई खारेज गर्नु पर्ने माग गर्दै सत्तारुढ नेकपाका चार सांसदले मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन् ।

उनीहरुले संसद विघटन असंवैधानिक भएकाले अझै संसद जिउँदो रहेको जिकिरसहित नेकपाका ९० जना सांसदले दायर गर्ने भनिएको रिट जम्मा ४ सांसदले दायर गरेका छन् । नेकपाका प्रमुख सचेतक देव गुरूङ, सांसद कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीले मंगलबार रिट दायर गरेका हुन् ।

यसअघि अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपालसहित ९० सांसदको नामबाट रिट दिने तयारी थियो । तर सबैको नागरिकता लगायतका आवश्यक कागजात संकलन गर्न समय लाग्ने भएकाले चार जनाले मात्र रिट दिएको जनाइएको छ ।