Tuesday, 19, January, 2021

सडकमा मान्छे छटपटाइरहँदा पनि मन पग्लिएन यी अविवाहित मुख्यमन्त्रीको

मोरङ । घटना सोमबारको हो । सडकमा दुर्घटना भएर दुइजना मानिस लडिरहेका थिए त्यही प्रदेशका मुख्यमन्त्री शेरधन राई भने अघिपछि पुलिसको लर्को राखेर हुँइकिए ।

प्रदेश नम्बर १ को मोरङको बेलबारी नगरपालिका–४ मा भएको दुर्घटनालाई वास्तै नगरी उनी लेन क्रस गरेर अघि बढेको तस्विरमा पनि देखिन्छ । एम्बुलेन्सको पर्खाइमा रहेका मानिसहरु साइरन बजेको सुनेपछि खुशी भएपनि राई गएपछि भनें दुःखी भएका थिए । राइले तत्काल आफ्नो गाडीमा राखेर अस्पताल लगेका भए ४३ वर्षे अर्जुन खत्री मृत्युको मुखबाट फिर्ता आउने थिए ।

मुख्यमन्त्री आउँदा मानिसहरु उद्धारको लागि तयार थिए तर कुनै साधन उपलब्ध थिएन । ३ वटा गाडीमा उनी हुँइकिएका थिए । मुख्यमन्त्री गएको करिब १० मिनेटपछि मात्र प्रहरी उद्धारका लागि घटनास्थल पुगेको स्थानीयले बताएका छन् । राई भोजपुरबाट प्रदेशसभामा निर्वाचित नेकपा सांसद् हुन् । उनी अविवाहित हुन् ।

पिकअप भ्यानले ठक्कर दिएपछि ६५ वर्षे दुर्गाप्रसाद भण्डारी र खत्री दुर्घटनामा परेका थिए । समयमै उद्धार नहुँदा उपचारका क्रममा घाइते खत्रीको मृत्यु भएको छ । पिकअप भ्यान चालक ३० वर्षीय दिलसिंह राई इलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रण्मा रहेको प्रहरीले बताएको छ ।