Thursday, 28, January, 2021

शासकको कमजोरीकै कारण वर्तमान अवस्थाको सिर्जना भयो – नेपाल समाजवादी कांग्रेस

काठमाडौं । नेपाल समाजवादी कांग्रेसले वर्तमान अवस्थाको सिर्जना हुनुमा शासक नै जिम्मेवार रहेको निश्कर्ष निकालेको छ ।

राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरेपछि पार्टीको केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा बसेको विशेष बैठकमा उत्पन्न परिस्थितिलाई कसरी समाधान गर्ने भन्ने विषयमा छलफल गरिएको सचिव मानबहादुर गुरुङले जनाए ।

पार्टी अध्यक्ष गोविन्द निरौलाको अध्यक्षतामा बसेको विशेष बैठकले अव्यवस्थित र भद्रगोल शासन सत्ता नै परिवर्तन हुनुपर्ने अडान राखेको छ । पार्टीले आफ्ना विचार र सिद्धान्तलाई जनतामाझ लाने पनि निर्णय गरेको छ ।

पार्टीले असंवैधानिक संविधानको खारेजी गरेर नयाँ संविधानको घोषणले कानुनी राजको सञ्चालन हुनुपर्ने अडान लिएको छ । पार्टीले संविधान खारेजीको माग गर्दै विभिन्न निकायमा ज्ञापनपत्र पनि बुझाइसकेको छ ।

राजनीतिक दलका यस्ता अलोकतान्त्रिक र संविधानविरोधी गतिविधि बढ्दै गए देश विघटन हुन सक्ने खतरा भएको भन्दै उसले सम्पूर्ण नेपालीहरुमा सजग र सचेत रहन हार्दिक अपिल समेत गरेको छ ।