Thursday, 21, January, 2021

ओलीले यो कदमको कुनै दिन जनताले हिसावकिताव खोज्ने छन् – राजन खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता राजन खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको चरम दुरुपयोग गरेकाले इतिहास र भविष्यले पनि कहिल्यै माफी नदिने बताएका छन् ।

उनले बहुमतको आफ्नो सरकारमाथि नै प्रहार हुने गरी ओलीले चालेको कदम आत्मघाती रहेको दाबी समेत गरे । ‘यो भन्दा अर्को ठूलो दुर्घटना ओली र पार्टीको लागि पनि अरु हुनु पर्दैन, यो अकल्पनीय घटना किन घटाइछु उनले पनि भविष्यमा सोच्दै पछुताउनु पर्ने छ’ खतिवडाले भने ‘ सरकार र नेकपा त कमजोर भयो नै, देश समेत बर्बाद पारेका छन् त्यसको कुनै दिन जनताले हिसावकिताब खोज्ने छन् ।’ उनले सरकारको यो कदम असंवैधानिक, अलोकतान्त्रि र अप्रजातान्त्रिक भएको पनि आरोप लगाए ।

उनले ओलीको यो कदम संसदीय व्यवस्थालाई ध्वस्त पार्ने रणनीतिक साथ आएको पनि स्पष्ट पारेका छन् ।

‘देशलाई अधिनायकवादतर्फ धकेल्ने खेल हो, यो कसैलाई पनि स्वीकार्य छैन, हिजो राजाले गलत गर्दा सडकमा मानिस निस्केपछि राजसंस्था ढल्यो अब सरकारविरुद्ध पनि त्यस्तै जोस र जाँगरका साथ लाग्नु जरुरी छ’ उनले थपे ‘विश्वमा कुनै पनि तानाशाह टिकेका उदाहरण छैनन् र नेपालमा पनि टिक्दैनन्, कसैले बढी अहम्ता देखायो भने जनताले तह लगाउँछन् ।’ उनले नेकपा चाँडै पतनको बाटोमा अग्रसर भएको पनि बताए ।

उनले राष्ट्रपतिको भूमिकामा पनि प्रश्न गरे ।

‘राष्ट्रपतिले पनि आफ्नो पदको गरिमा बचाउन सकेको देखिएन, देश र जनताको अहित हुने निर्णयमा चुपचाप लागेर सही गर्नु हुँदैनथ्यो’ उनले भने ‘ २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा नेकपाले पाएको मतको अपमान हो, जनताले अब नेकपालाई ठाउँठाउँमा प्रश्न गर्ने छन् ।’ उनले देश र जनताको अहितमा हुने कुनै पनि निर्णय मान्न जनता तयार नभएकाले सडकबाट यसको विरोध गर्नुपर्नेमा जोड दिए ।