Saturday, 23, January, 2021

प्रधानमन्त्रीको कुर्सी बचाउन आफ्नै स्वार्थका लागि मात्र ओलीद्धारा प्रतिनिधिसभा भंग

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको आफ्नो कुर्सी बचाउनका लागि नै प्रतिनिधिसभा भंग गरेका छन् ।

उनले सिफारिस गरेका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रतिनिधिसभा भंग भएको घोषणा गरेकी छिन् ।

पार्टीभित्रैबाट दवाव सहँदै आएका उनले प्रधानमन्त्री नै छोड्नुपर्ने अवस्था सिर्जना भएपछि आवेगमा आएर प्रतिनिधिसभा भंग गरेका हुन् । यो निर्णयको सत्तारुढ नेकपा, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, अन्य दल र सर्वसाधरणले पनि विरोध गर्दै आएका छन् ।

संविधान अनुसार आगामी पौष १७ गतेसम्म संसदको बैठक बोलाइसक्नु पर्दथ्यो । पार्टीभित्रै अल्पमतमा पर्दै आएका प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने सम्भावना बुझेर नै त्यसलाई छल्न पनि उनले यो बाटो रोजेका हुन् ।

संसद विघटन भएपछि अब ओली सरकारले नै निर्वाचन गराउने छ । संसद नहुँदा उनलाई हटाउने अरु कुनै विकल्प पनि छैन । पार्टीमा नै प्रधानमन्त्री र अध्यक्ष पद छोड्न दवाव परेपछि उनले आफ्नो स्वार्थका लागिमात्र यस्तो कदम चालेका हुन् । सरकारले आगामी बैशाख १७ र २७ गते दुई चरणमा प्रतिनिधिसभाको निर्वाचन गर्ने घोषणा पनि गरिसकेको छ । ओलीसँगै राष्ट्रपतिलाई समेत महाअभियोगको प्रस्ताव दर्ता हुने बुझेपछि आफ्नो र राष्ट्रपति दुवैको पद जोगाउन अहिले ओली सफल भएका हुन् । निर्धारित मितिमा निर्वाचन नभए ओलीको सरकारको आयु अझै लम्बिने छ ।

बहुमत प्राप्त बलियो सरकारले प्रतिनिधिसभा विघटन गरेपछि राजनीतिक वृत्तमा अनेक टिकाटिप्पणी हुँदै आएका छन् ।