Saturday, 16, January, 2021

७ जना मन्त्रीद्धारा सामूहिक राजीनामा, आवेगमा राजीनामा नदिएको पुनः को भनाई

काठमाडौं । संसद विघटनको विरोध गर्दै ७ जना मन्त्रीले आज सामूहिक राजीनामा दिएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मन्त्रीहरुले राजीनामा दिएका हुन् । राजीनामा दिनेहरुमा शिक्षामन्त्री गिरिराजमणि पोखरेल, उर्जामन्त्री वर्षमान पुन, कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेशकुमार भट्टराई, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, श्रममन्त्री रामेश्वर राय यादव र खानेपानीमन्त्री विना मगर छन् । मगर प्रचण्डकी आफ्नै बुहारी हुन् । मेलम्ची खानेपानी प्रकरणमा पटकपटक विवादमा आउँदा पनि बुहारीलाई मन्त्री बनाइरहेको भन्दै प्रचण्डको बारम्बार आलोचना हुँदै आएको थियो ।

राजीनामा दिन आयोजित पत्रकार सम्मेलनमा उर्जामन्त्री वर्षमान पुनले आवेगमा राजीनामा नदिएको बताए । उनले प्रधानमन्त्रीलाई दबाव होस् भनेर सामूहिक राजीनामा दिएको बताए । उनीहरुले पार्टी एकता बचाउन र राजनीतिक उपलब्धीलाई रक्षा गर्न सधैं प्रतिवद्ध रहने पनि सामूहिक विज्ञप्तीमार्फत स्पष्ट पारेका छन् ।