Saturday, 23, January, 2021

पाँच दिन बित्दा पनि अध्यादेश फिर्ता भएन, स्थायी समितिमा यो पनि मुख्य एजेण्डा

काठमाडौं । सरकारले जारी गरेको संवैधानिक परिषद्सम्वन्धी अध्यादेश पाँच दिन बित्दा पनि फिर्ता भएको छैन । सरकारले लगेको अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार जारी गरेकी थिइन् । प्रधानमन्त्रीले अध्यादेश ल्याउनुभन्दा केही समयअघि मन्त्रिपरिषद्को बैठक बोलाउ पनि यसबारे कुनै जानकारी नभएको मन्त्रीहरुले जनाएका छन् ।

भोलिको बैठकअघि अध्यादेश फिर्ता नभए ओलीइतर पक्षले यसैलाई प्रमुख एजेण्डा बनाउने भएका छन् । गत बैशाखबाट नेकपामा विवाद हुँदै आएको छ । प्रधानमन्त्रीसमेत रहेका ओलीले पार्टी र सरकारले गर्ने हरेक निर्णयमा छलफल गर्ने भनेपछि विवाद केही समयका लागि मिले पनि फेरि बल्झँदै आएको छ । अध्यादेश ल्याएपछि निकै विवादित बनेका प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिन्छु भन्ने मौखिक सहमति गरे पनि अझैसम्म अध्यादेश फिर्ता भएको छैन । संविधानको मर्मबाहिर गएर ल्याएको अध्यादेशले सरकार समेत संकटमा परेको छ ।

पार्टीभित्रैबाट चर्को विरोध भएपछि अन्ततः ओली फिर्ता लिन्छु भन्ने अवस्थामा पुगेका थिए । पार्टीका सांसदहरु नै राष्ट्रपतिलाई महाअभियोग लगाउने र प्रधानमन्त्रीविरुद्ध पनि अविश्वासको प्रस्ताव राख्ने दाउमा भएपछि ओलीले हतारहतारमा अध्यादेश फिर्ता लिन्छु भनेका थिए । त्यसपछि पार्टीको स्थायी समिति बैठक पनि बसेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पनि पत्र पाउनेबित्तिकै आँखा चिम्लेर हस्ताक्षर गरेकी थिइन् । प्रधानमन्त्रीले आफूलाई सजिलो हुने कानुन ल्याउन संसद नभएको मौकामा ‘चोर बाटो’ प्रयोग गरेका छन् । अध्यादेश फिर्ता नलिए पार्टीभित्र जे पनि गर्न तयार भएको भन्दै ओलीइतर पक्ष जोडतोडका साथ लागेपछि मात्र ओली झुकेका थिए । ओलीले सरकार, पार्टी र कानुनविद् कोहीसँग पनि सल्लाह नगरी आफूखुशी गर्न थालेपछि ओली थप संकटमा परेका छन् ।

फिर्ता हुनुपर्ने माग राख्दै आएको पार्टीको ओलीइतर पक्षले यसैलाई आफ्नो अडानको रुपमा लिएको छ । ओली नगएपनि बैठक बस्ने र निर्णय गर्ने पार्टीले जनाएको छ ।

आफूलाई अप्ठेरो पर्ने पार्टीका कुनै पनि बैठकमा ओली जाने गरेका छैनन् । उनी सचिवालय, स्थायी समिति र केन्द्रीय समितिमा अल्पमतमा छन् ।