Thursday, 28, January, 2021

सवारीमा जोर विजोर प्रणाली खारेज

काठमाडौं । भोलि शुक्रबारदेखि काठमाडौं उपत्यकामा सार्वजनिक तथा निजी सवारीमा लगाइएको जोर–बिजोर प्रणाली हटाइएको छ ।

आज जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको सरकारोवाला निकाय र विभिन्न यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधिको बैठकले यस्तो निष्कर्ष निकालेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार तोकिएको स्वास्थ्य मापदण्ड पालना गरेर सबै सार्वजनिक र निजी सवारी चल्न दिने निर्णय भएको छ । अहिले उपत्याकामा मात्र जोर विजोर लागू हुँदै आएको थियो । यातायात व्यवसायीले सरकारले अनुमति नदिए पनि शुक्रबारबाट सबै यातायात कुदाउने निर्णय गरिसकेका थिए ।

यातायात व्यवसायीले भने अरु सबै व्यापार व्यवसाय र हवाइजहाज पनि खुलेको बेलामा यातायातमा मात्र जोर विजोर लागू गर्नु व्यवहारिक नभएको बताउँदै आएका थिए । जोर विजोर लागू भएर थोरैमात्र सवारी कुद्दा यात्रुको खचाखच हुने गरेको थियो ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले लकडाउनपछि यात्रु पाउनै मुश्किल पर्ने सार्वजनिक सवारीमा अहिले कार्यालय समयमा ठूलो भीडभाड हुन थालेकोले जोर बिजोर हट्नु सकारात्मक भएको बताए ।