Thursday, 21, January, 2021

विबादबीच स्थायी समिति बैठक सुरु, ओली पनि सहभागी

काठमाडौं । करिब तीन घण्टा लामो विवाद र छलफलपछि बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच दुई पटकसम्मको छलफलपछि स्थायी कमिटी बैठक सुरु भएको हो ।

दिउँसो १ बजे बस्ने भनिएको बैठक अपरान्ह ४ बजे सुरु भएको हो। यो बैठकमा प्रधानमन्त्री ओली पनि सहभागी भएका छन्। १ बजे बस्ने भनिएको बैठक अघि अध्यक्ष दाहाल र ओलीबीच एक घण्टा लामो छलफल भएको थियो ।

जहाँ ओलीले दाहाललाई आफूविरुद्ध सचिवालयमा पेश गरिएको आरोपपत्र फिर्ता लिए मात्रै बैठकमा सहभागी हुने अडान लिएका थिए। ओली दाहाल संवाद सकिएलगत्तै भीमबहादुर रावल र पम्फा भुसालसहितका सांसद करिब ८० जनाको हस्ताक्षर लिएर राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेका थिए ।

तर शीतल निवासले उनीहरुको निवेदन दर्ता नै नगरी फर्काइदिएको थियो। स्थायी कमिटी रोकिएकै अवस्थामा दाहाल फेरि ओलीसँग संवादका लागि पुगेका थिए। जहाँ प्रचण्डको प्रस्ताव र ओली सरकारले ल्याएको अध्यादेश दुवै फिर्ता गरेर समझदारी बनाउने प्रयास भएको थियो ।