Sunday, 24, January, 2021

राजा र राणा पनि आफ्नै दम्भले सकिए नेकपाको पनि त्यस्तै हालत हुन्छ – उपसभापति धर्मराज पोखरेल

काठमाडौं । नेपाली कांग्रेसका खोटाङका उपसभापति धर्मराज पोखरेलले राजा र राणा पनि आफ्नै दम्भले सकिए नेकपाको पनि त्यस्तै हालत हुने दाबी गरेका छन् ।
सत्तामा हुँदा जनतालाई वेवास्ता गरेका कारण राजा र राणा इतिहासमा मात्र सिमित भएको बताउँदै उनले नेकपालाई शक्तिको घमण्ड नगर्न र अरुको इतिहास पनि हेर्न सुझाव दिएका छन् । उनले नेकपाले मृत्यु संस्कारका लागि कात्रो किन्दा पनि भ्रष्टाचार गर्ने आरोप लगाएका छन् ।

नेपाली कांग्रेसको देशव्यापी रुपमा आज भएको सरकारविरोधी आन्दोलनबारे कुरा गर्दै उनले सरकारले जहाँ पनि भ्रष्टाचार र अनियमितता गरेको दाबी गरे । ‘कोरोनाको रोकथाम र नियन्त्रणमा पनि सरकारले कमिशन खायो, यस्तो सरकार जनताको हितमा कहिल्यै पनि हुन सक्दैन’ उनले भने ‘ कांग्रेसको आजको आन्दोलनले सरकारलाई सच्चिनका लागि आव्हान गरेको छ, सरकारले फेरि पनि बाटो बिराए अर्को आन्दोलन गर्नुपर्ने छ त्यो अवस्था नआओस् भन्ने हो ।’

नेता पोखरेलले विपीको समाजवादको नारा मात्र लाएर अब कांग्रेस अघि बढ्न नसक्ने स्पष्ट पारे । उनले कांग्रेसले पार्टीको लागि र जनताका लागि नयाँ कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । ‘ सरकार भ्रष्टाचारमा लिप्त छ, उसले जनताको पक्षमा कहिल्यै पनि सोच्न सकेको छैन’ उनले भने ‘नेकपाका गलत क्रियाकलापको विरोधमा जनता सडकमा उत्रेका छन्, जनताको मतको सम्मान गरेन भने नेकपा पनि कुनै दिन सकिन्छ ।’

खोटाङमा आजको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले प्रमुख वक्ताका रुपमा सम्वोधन गरेका थिए । विभिन्न ठाउँबाट आएको जुलुस कोणसभामा परिणत भएको थियो ।

कार्यक्रममा क्षेत्रीय सभापतिहरु तीर्थ भट्टराई, इबन राई, बिमला राई, भूपेन्द्र राई, रविप्रकाश राइलगायतले सम्वोधन गरेका थिए ।

उनीहरुले सरकार बदनाम हुँदै गएकाले जनताले पनि खवरदारी गर्नुपर्नेमा जोड दिए ।