Saturday, 16, January, 2021

सरकारविरूद्धको प्रदर्शनमा यी विभिन्न ठाउँमा उत्रिँदै कांग्रेसका नेताहरु

काठमाडौं । नेपाली कांग्रेसले आज देशव्यापी प्रदर्शन गरिरहेको छ । सरकारविरुद्धको प्रदर्शनमा चर्चित नेताहरू सहभागी भएका छन्।

विरोध प्रदर्शनमा सभापति शेरबहादुर देउवासहित युवा नेता गगन थापासम्म सडकमा उत्रिएका छन । सभापति देउवाले मकवानपुरको हेटौंडामा हुने विशेष सभालाई सम्बोधन गर्दै छन्। युवा नेता गगन थापा पनि कैलालीको धनगढीमा हनुे सभालाई सम्बोधन गर्न आइतबार नै धनगढी पुगेका छन्।

कांग्रेसले १० वटा नारा लगाउने भएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाडौंमा खटिएका छन् भने उपसभापति विमलेन्द्र निधिले भक्तपुरमा आयोजना हुने सभालाई सम्बोधन गर्नेछन्। त्यस्तै, महामन्त्री डा शशांक कोइराला मोरङमा हुने बृहत् सभामा सहभागी हुँदै छन्। सहमहामन्त्री डा. प्रकाशशण महत झापाको प्रदर्शनमा सामेल हुने कार्यक्रम छ। अर्का सहमहामन्त्री सुनिलबहादुर थापा धनकुटामा छन्। पूर्वमहामन्त्री प्रकाशमान सिंह धनुषाको सभालाई सम्बोधन गर्दै छन्।

पूर्वउपभापति गोपालमान श्रेष्ठ काभ्रेपलाञ्चोकको सभालाई सम्बोधन गर्न धुलिखेलतर्फ लागेका छन् भने पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी कास्कीको सभालाई सम्बोधन गर्न पोखरा पुगेका छन्। केन्द्रीय सदस्य डाक्टर रामशरण महत चितवनको सभालाई सम्बोधन गर्न भरतपुर पुगेका छन् भने पूर्वकोषाध्यक्ष चित्रलेखा यादवले सप्तरीको सभालाई सम्बोधन गर्दै छन् ।

सिन्धुपाल्चोकको बाह्रबिसेमा निस्किएको जुलुस
सिन्धुपाल्चोकको बाह्रबिसेमा निस्किएको जुलुस

अर्का युवा नेता प्रदीप पौडेलले कञ्चनपुरमा हुने विरोध प्रदर्शनको नेतृत्व गर्दै सम्बोधन गर्दैछन्। केन्द्रीय सदस्य एनपी साउदले अछाममा सम्बोधन गर्दै छन् भने धनराज गुरुङ गृहजिल्ला स्याङजामै सहभागी हुन लागेका छन् ।

युवा नेता गुरुराज घिमिरेले खोटाङको सभालाई सम्बोधन गर्ने कार्यक्रम छ भने युवा नेता कल्याण गुरुङले नवलपरासीमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।