Saturday, 23, January, 2021

आफ्नै पार्टीविरुद्ध आन्दोलनमा उत्रिइन् नेकपाबाट निर्वाचित जनप्रतिनिधि

पर्वत । आफू निर्वाचित भएको पार्टीविरुद्ध नै पर्वतमा एक जनप्रतिनिधि आज सडकमा आएकी छिन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट जनप्रतिनिधि बनेकी मायादेवी रेग्मी आइतबार नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन् । पार्टी प्रवेशसँगै उनले नेपाली कांग्रेसको झण्डा उचालेकी छिन् । उनी जलजला गाउँपालिका– ६ मा वडा सदस्यमा निर्वाचित भएकी थिइन् । रेग्मीसँगै झण्डै १५ स्थानीय नेता कार्यकर्ता कांग्रेस पर्वतले जनाएको छ ।

वडा सदस्य रेग्मीसहितका अरूलाई कांग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी र पर्वत कांग्रेसका कोषाध्यक्ष यामबहादुर मल्ल ‘रामकृष्ण’ ले पार्टीमा स्वागत गरेका थिए । वडा सदस्य रेग्मीसहित केदारनाथ भुसाल, मनका भुसाललगायतका स्थानीय नेताहरू कांग्रेसमा प्रवेश गरेको कोषाध्यक्ष मल्लले जानकारी दिए ।
कांग्रेसले सरकारविरुद्ध सोमबार देशभरि प्रदर्शन गर्दै गर्दा रेग्मी नेकपा छाडेर कांग्रेसमा प्रवेश गरेकी छिन् । कांग्रेसको विरोध प्रदर्शनको एक दिन पहिला वडा सदस्यमा निर्वाचित रेग्मीले आफ्नो निर्वाचित पदको बेवास्ता गर्दै कांग्रेसको झण्डा उचालेकी हुन् ।