Tuesday, 08, June, 2021

स्थायी समिति बैठक टार्नकै लागि नै ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका हुन् कि ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका हरेक बैठकलाई लत्याउँदै आएका छन् । गत आइतबार बोलाइएको स्थायी समिति बैठकमा नगएर निकै आलोचना खेपेका ओलीले पार्टीलाई कम मूल्यांकन गर्दै आएका छन् ।

आफू संकटमा पर्ने भएपछि उनी बैठकमा नै जाँदैनन् । सचिवालय र केन्द्रीय समितिजस्तै स्थायी समितिमा पनि उनी अल्पमतमा छन् । ओली बैठकमा नगएपछि पार्टीले महत्वपूर्ण निर्णय गर्न सकेको छैन । ओली पार्टी र सरकार आफैंले चलाएकाले आफूले भनेको कुरामात्र सबैले मान्नुपर्छ भन्दै आएका छन् ।

ओलीले आइतबार बिहान संवैधानिक परिषद्को बैठक बोलाएका छन् । स्थायी समिति बैठककै दिन परिषद्को बैठक किन बोलाउनुपरेको थियो भनेर पनि प्रश्न उठाइएको छ । ओलीले अन्तिम समयमा आएर आइतबार पनि परिषद् बैठक देखाएर स्थायी समितिमा नजाने बहाना बनाउने सम्भावना रहेको पार्टीपंक्तिले नै आशंका गरेको छ ।

ओलीइतर पक्ष भने पार्टी अध्यक्ष ओली बैठकमा नआए पनि पार्टीले निर्णय गर्ने र त्यो निर्णय उनले पनि मान्नुपर्ने भन्दै आएको छ । ओलीले आफू प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद नछोड्ने बरु पार्टीले हटाउन खोजे त्यसको डटेर सामना गर्ने भन्दै आएका छन् ।