Thursday, 10, June, 2021

नेपाली सेनाका सेकेण्ड लेफ्टिनेन्ट थापालाई बेलायतमा अन्तर्राष्ट्रिय तरवार (स्वर्ड) पुरस्कार

काठमाडौं । नेपाली सेनाका एक अधिकृतले अन्तर्राष्ट्रिय तरवार (स्वर्ड) पुरस्कार जितेका छन् ।

बेलायती सेनाले सार्वजनिक गरेको विवरण अनुसार, नेपाली सेनाका सेकेण्ड लेफ्टिनेन्ट थापाले यस बर्षको कोर्समा उत्कृष्ठ हासिल गर्दै बेलायती सेनाको अन्तर्राष्ट्रिय तरवार (स्वर्ड) पुरस्कार जितेका हुन् । पिटर थापा बेलायतको प्रतिष्ठित  स्याण्डहर्ष्ट सैनिक महाविद्यालयमा सर्वोत्कृष्ट घोषित हुँदै पुरस्कारका हकदार बनेका हुन् । यसअघि पनि नेपाली सेनाका अधिकृतहरुले सर्वोत्कृष्ट स्थान हासिल गर्न प्रयास गर्दै आएता पनि उत्कृष्ट पुरस्कार हात पर्न सकेका थिएनन् । थापा नेपाली सेनाका तर्फबाट यस्तो प्रतिष्ठित अवार्ड पाउने पहिलो अधिकृत बनेका मात्र छैनन । उनी बेलायती सेनाको संसार प्रसिद्ध शाही सैनिक महाविद्यालयको सर्वोत्कृष्ट पुरस्कार पाउने थोरै नेपालीमा पर्न सफल भएका छन् ।

हरेक बर्ष नेपाली सेनाले आफ्नो सैनिक महाविद्यालय खरिपाटीमा अधिकृत क्याडेट तालिममा प्रथम हुने अधिकृतलाई सेकेण्ड लप्टनको फुली लगाइदिएपछि बेलायतको स्याण्डहर्ष्टमा थप सैनिक कोर्स लागि पठाउने गर्दछ । यो कोर्समा नेपाली सेनाले स्वर्ड जितेको यो पहिलो इतिहास हो । स्वर्ड त्यस्ता अधिकृतहरुले मात्र जित्छन् जसले सो महाविद्यालयमा त्यो बर्षको कोर्समा सर्वोत्कृष्ठ बन्न सफल हुन्छन् । यो एक वर्ष अवधिको कोर्स हो ।

नेपाली सेनाका तर्फबाट सन् १९९० को दशकमा पूर्वरथी कुलबहादु खड्काका छोरा प्रवीण खड्का, सुधीर महरा र पूर्वसेनापति सचितसमशेर जबराका छोरा सदयसमशेर जबराले केन (सैनिक केन लठ्ठी) जित्न सफल भएका थिए । उत्कृष्ट हुनेहरुलाई सैनिक केन लठ्ठी प्रदान गरिन्छ भने स्वर्ड सर्वोत्कृष्ट हुने अधिकृतलाई प्रदान गरिन्छ । धादिङ जन्मघर भएका थापा दुई बर्षअघि मात्र सैनिक सेवामा प्रवेश गरेका थिए ।