Thursday, 10, June, 2021

कांग्रेसले २९ गतेपछि पनि थप आन्दोलन चर्काउने

काठमाडौं । नेपाली कांग्रेसले मंसिर २९ गते पनि आन्दोलनलाई निरन्तरता दिने भएको छ ।

आन्दोलनका बारेमा छलफल गर्न आज सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको बैठकले अहिले घोषित आन्दोलनलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर छलफल गरेको सह–महामन्त्री प्रकाशशरण महतले जनाए । बैठकमा पदाधिकारी र पूर्व पदाधिकारी सहभागी थिए ।

मंसिर १७ गते तनहुँमा पुल उद्घाटन गर्न जाने क्रममा प्रहरीद्धारा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्राउ परेपछि कांग्रेसले त्यसको विरोधमा आन्दोलन गर्ने निर्णय गरेको थियो । कांग्रेसले सरकारले गरेका गलत गतिविधिको पनि भण्डाफोर गर्ने समेत जनाएको छ ।

 

सह–महामन्त्री महतले २९ गतेको कार्यक्रम प्रारम्भिकमात्र भएको बताएका छन् । उनले त्यसपछि पनि आन्दोलन जारी रहने जनाए ।