Sunday, 13, June, 2021

बैठकमा जान्न, पार्टीको कुरा सुन्दिन र प्रधानमन्त्री र अध्यक्ष पनि छोड्दिन भन्न मिल्छ कि मिल्दैन ?

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओली अहिले पार्टीमा अचम्मका पात्र भएका छन् । उनले पार्टीको निर्णय पनि मानेका छैनन् भने पार्टी प्रणालीलाई नै वेवास्ता गर्दै आएका छन् ।

यसअघि बोलाइएका स्थायी समिति बैठकमा नगएर नै टारेका ओलीलाई पार्टीले राम्रो मानेको छैन । उनी आफूलाई अप्ठेरो पर्ने बैठकमा जाँदैनन् । स्थायी समिति र सचिवालयमा पनि उनी अल्पमतमा छन् । सधैं बैठक छलेर हिँड्ने ओलीलाई पार्टीको ओलीइतर पक्षले दुवै पदबाट हटाएर कारवाही गर्ने भन्दै आएको छ । ओली नआएपछि धेरैवटा बैठक अनिर्णयको बन्दी भएका छन् ।

पार्टी र सरकारले जनताको पक्षमा काम गर्न सकेको छैन । ओलीले पार्टीका प्रमुख नेताको पनि कुरा सुनेका छैनन् । पार्टीलाई गम्भीर संकट हुँदा पनि कुनै छलफल नगरिनुले एकपछि अर्को संकट पर्दै आएको छ । पछिल्लो समयमा पार्टीका अध्यक्षसमेत रहेका ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच जुहारी नै चलेको छ । प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनको ओलीले जवाफ दिएपछि विवाद झन् बढेको हो ।

ओलीले जनताले पार्टीको नाममा आफ्नै लागि मतदान गरेको र सबै मत आफ्नै लागिमात्र आएको भनेर अडान लिइरहेका छन् । पार्टीले भने जनताले नेकपालाई मतदान गरेकाले जनताको भावना अनुसार काम गर्न सरकारलाई दवाव दिँदै आएका छन् । ओली भने कसैको कुरा नसुनी आफ्नै पाराले चल्दा जनताबाट दिनैपिच्छे आलोचित भएका छन् ।