काठमाडौं । नातिनी सम्झनाको बलात्कारपछि हत्या भएपछि सम्झनाको घर अँध्यारो भएको छ । जेठी नातिनी सम्झनाको स्थानीय युवा राजेन्द्र बोहोराले बलात्कारपछि हत्या गरेको आज तीन महिना पुग्न आँटेको छ ।
नातिनी त गुमाए नै गोरखले । संघीय सरकारले दिन्छु भनेको १० लाख रुपैंया पनि पाएका छैनन् । तीनजना नातिनीलाई आफूसँग राखेर छोराबुहारीलाई रोजगारका लागि भारत पठाएका उनी कल्पना नै नगरेको पीडा भोग्नुपरेपछि नराम्ररी पिरोलिएका छन् । गोरखसँग दुई नातिनी छन्, सम्झना जेठी नातिनी थिइन् । हत्यारा राजेन्द्र बोहोरालाई सर्वश्वसहित जन्मकैद नभएसम्म नातिनी सम्झना कामीको आत्माले शान्ति नपाउने भन्दै हजुरबुबा गोरख कामीले यस्तो माग राखेका छन् ।
केही दिनअघि गोरखको घर बझाङको मष्टा २ पुगेकी नेकपाकी प्रतिनिधिसभाकी सांसद आशाकुमारी विश्वकर्मासँग उनले बोहोरालाई कारवाही नभएसम्म आफ्नो अडान रहिरहने बताए । ‘उहाँ (गोरख) ले बलात्कारी राजेन्द्र बोहोरालाई मृत्युदण्ड नै हुनुपर्छ भन्ने माग राख्नुभएको छ, त्यो सम्भव नभए पनि सर्वश्वसहित जन्मकैदको व्यवस्था हुनैपर्छ भन्नुभयो’ सम्झनाको घरबाट फर्किएपछि विश्वकर्माले भनिन् ‘ उहाँको आँखामा अझै पनि सम्झनाको आँशु बगिरहेको छ, जति सम्झाउँदा पनि मान्नुभएन, सधैं त्यही घटना सम्झेर भक्कानिनुहुन्छ ।’

१२ वर्षीया सम्झनाको असोज ७ गते बलात्कारपछि हत्या भएको थियो । बलात्कारी राजेन्द्र पक्राउ परेका छन् । कोरोना लागेपछि जिल्ला अस्पताल डोटी लगिएका राजेन्द्र अस्पतालबाटै केही दिनअघि भागेका थिए । प्रहरीले उनलाई तत्कालै पक्राउ गरेको थियो । राजेन्द्रको उमेर नपुगेको भन्दै बालगृहमा राखिएको छ । संघीय सरकारले सम्झनाको परिवारलाई १० लाख रुपैंया दिने त्यतिबेला नै निर्णय गरे पनि त्यो पैसा नपाएको गोरखको गुनासो छ ।

‘मलाई बरु पैसा चाहिएन, राजेन्द्रलाई कारवाही भए पुग्छ भन्नुभयो’ सांसद विश्वकर्माले भनिन् ‘ सम्झनाको हत्या भएपछि गोरखको घर अन्धकार भएको छ ।’ सम्झनाका बुबाआमा रोजगारीको क्रममा भारतमा छन् । सम्झना ४ छोरीमध्येकी जेठी थिइन् । सम्झनाका बुबाआमा २ छोरी र एक छोराका साथ भारत नै बस्दै आएका छन् ।