Wednesday, 09, June, 2021

कांग्रेस र नेकपा सांसदबीच जुहारी, आरोप प्रमाणित गरेर देखाउन नेकपा सांसद ढकालको चुनौती

बुटवल । दुईजना सांसदबीच भएको अन्तरक्रियामा कांग्रेस र नेकपा सांसदबीच जुहारी चलेको छ । कांग्रेसका लुम्बिनी प्रदेशका संसदीय दलका नेता बिरेन्द्र कनौडियाले नेकपालाई लगाएको आरोपको नेकपाका मुख्य सचेतक भूमेश्वर ढकालले खण्डन गर्दै आरोप प्रमाणित गर्न चुनौती दिए ।

रिपोर्टर्स् क्लव लुम्बिनी प्रदेशद्धारा आज आयोजित साक्षात्कारमा नेता कनौडियाले नेकपा विवाद कुनै सैद्धान्तिक र वैैचारिक नभएको भन्दै सत्ता र शक्ति केन्द्रित भएको टिप्पणी गरे । पार्टीभित्रको झगडाका कारण नेकपाले देशलाई वर्वाद बनाउन खोजेको आरोप लगाए । संघीय सरकारले जनतालाई डेलिभरी दिन नसकेको भ्रष्टाचारमा डुबेको, संविधानविपरीतका क्रियाकलाप गरेको, नीति नियम नमानेको र तानाशाही भएकोले नैतिक रुपमा पतन भइसकेकोले जनताको हक अधिकार खोसिएको समेत दाबी गरे । उनले सरकारलाई सत्तामा बस्ने कुनै अधिकार नभएको प्रष्ट पारे ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुम्बिनी प्रदेशका प्रमुख सचेतक भुमेश्वर ढकालले कनौडियाको आरोप गलत भएको टिप्पणी गरे । ‘सरकारले भ्रष्टाचार र अनियमितता गरेको भए प्रमाणित गर्न चुनौती दिन्छु, यदि त्यसो भए प्रदेशको लेखा समिति के हेरेर बसेको छ ?’ नेता ढकालले कांग्रेस संसदीय दलका नेता कनौडियालाई जवाफ दिए ।

नेता ढकालले दीर्घकालीन संरचना निर्माण गरेरै मात्र राजधानी दाङ सार्ने सरकारको मनसाय रहेको जनाए । उनले प्रदेश सरकार दीर्घकालीन योजनाका साथ अगाडि बढेको दाबी गरे । सरकारले प्रदेशको राजधानी दाङ बनाउने निर्णय गरिसकेको छ ।

नेता कनौडियाले लुम्बिनी प्रदेशको स्थायी राजधानी तत्काल दाङ सार्ने सम्भावना नरहेको बताए । बुटवलको अस्थायी संरचनाबाट दाङ भालुवाङको अस्थायी संरचनामै कार्यालयहरु लाँदा राज्यलाई करोडौ रुपैंयाँ आर्थिक भार पर्ने भएकाले स्थायी संरचना निमार्णपछि मात्रै सरकारका संरचनाहरु लैजाँदा उपयुक्त हुने कनौडियाको भनाई छ ।

साक्षात्कार कार्यक्रम क्लवका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा र सचिब कपिल ज्ञवालीको सञ्चालनमा भएको थियो ।