Saturday, 16, January, 2021

बैठकमा ओली जाँदै गएनन् भने अब के हुन्छ ?

काठमाडौं । आफ्नै पार्टीको आइतबारको स्थायी समिति बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली गएनन् । आफू अल्पमतमा पर्ने भएपछि बैठक नै वहिष्कार गरेका ओलीले अब के गर्लान् भन्ने प्रश्न उब्जिएको छ ।

आफू अनुकुल निर्णय हुँदा खुशी भएर जाने र विरोधमा निर्णय हुने भए अथवा आफूलाई केही चित्त नबुझे बैठक नै वहिष्कार गर्ने गरेका ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट नै हटाउने अर्को पक्षको योजना सफल होला कि नहोला ? ओलीले सचिवालयको बैठक पनि वेवास्ता गर्दै आएका छन् । पार्टीका सर्वोच्च निकाय मानिएको सचिवालयमा ९ सदस्यमध्ये ओलीका ४ जनामात्र छन् । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदन फिर्ता लिनुपर्छ भन्ने ओलीको अडान यथावत छ ।

प्रचण्डको जवाफ ओलीले पनि दिइसकेका छन् । ओलीले प्रचण्डको प्रतिवेदनलाई आरोपपत्रको संज्ञा दिएका छन् । आगामी आइतबार पनि स्थायी समिति बैठक बोलाइएको छ । आइतबार सचिवालयका ४४ जना सदस्यलाई नै दुवै अध्यक्षको प्रतिवेदन अध्ययनको लागि दिइएको छ । ओलीले पार्टीले गरेको कुनै पनि निर्णय नमान्ने भन्दै आएका छन् । ओली विरोधी पक्ष भने पार्टीले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष बनाएकाले पार्टीले गरेको जस्तोसुकै निर्णय पनि ओलीले मान्नुपर्ने भन्दै आएको छ । मंसिर २५ गते बोलाइएको केन्द्रीय समितिको बैठक पनि पौष ५ गतेका लागि सरेको छ ।

पार्टीमा कुनै पनि छलफल नगरी ओली एकलौटी ढंगले चलेकाले आलोचना भइरहेको छ ।