Saturday, 16, January, 2021

बिरामी बोकेको जिप दुर्घटना हुँदा चारजनाको मृत्यु

हुम्ला, हुम्लामा बिरामी बोकेको बोलेरो जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छ ।

सदरमुकाम सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको लु २ च २१०२ नम्बरको बोलेरो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रवक्तासमेत रहेका प्रहरी निरीक्षक सीताराम बिष्टले जानकारी दिएका छ्न ।

हेप्काखोलाबाट बिरामी लिएर सिमकोट फर्किने क्रममा सिमकोट गाउँपालिका ७ को डाँडाफयामा राति ११ बजे जीप दुर्घटनामा परेको बिष्टले बताए । जिप सडकबाट करिब पाँच सय मिटर तल पुगेको छ ।

दुर्घटनामा ज्यान गुमाउने चार जनाको अझै सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा एक बालकसहित सात जना घाइते भएका छन् ।

घाइते सात जनामध्ये दुईजनाको अवस्था गम्भीर छ। उनीहरु सबैको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि घटनास्थल पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानियबासीले बिरामी र घाइतेको उद्धार गरेका छन् ।