Wednesday, 09, June, 2021

कांग्रेस महाधिवेशन अन्यौलमा

काठमाडौं । तत्काल महाधिवेशन नगर्ने सोच बनाउँदै आएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई कोरोनाले पनि साथ दिएको छ । आफ्नो चार वर्षे वैधानिक कार्यकाल सकिएको ९ महिना बितिसकेको छ, उनी अझै पनि कुनै वहाना गरे महाधिवेशन धकेल्न खोजिरहेका छन् ।
कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि कांग्रेसले यसअघि तयार पारेका सबैखाले योजना अलपत्र भएका छन् । कांग्रेस केन्द्रीय समिति बैठकले कार्यसमितिको कार्यकाल एक वर्ष थपेपछि तत्कालै महाधिवेशन गरिहाल्नुपर्ने वाध्यता छैन । देउवा फेरि पनि सभापतिको उम्मेदवार हुने भएकाले आफ्नो जीत निश्चित नभएसम्म उनी महाधिवेशनमा जान तयार छैनन् । उता देउवासँग महाधिवेशनमा हारेका र पछि देउवाको नै कृपाले वरिष्ठ नेता बनाइएका रामचन्द्र पौडेलले भने अहिले आएर देउवालाई महाधिवेशन गर्न दवाव दिँदै आएका छन् । देउवाले आफू नै सभापति हुने दाबी गरिरहेका छन् । महाधिवेशनमा अनेक खेल खेल्न जान्ने देउवाले ती सबै जुक्ति लगाउने सोच बनाएका छन् । उता पौडेलले पनि सभापति जितिन्छ कि भनेर छिटो महाधिवेशन गर्नका लागि दवाव दिएका छन् । देउवा स्वभाविक उम्मेदवार हुन् भने अर्को पक्षमा को उम्मेदवार बन्ला भन्ने अहिलेसम्म टुंगो लागेको छैन ।

महाधिवेशन नजिकिँदै गर्दा धेरैले आफू नै सभापतिको उम्मेदवार भएको भनेर भन्दै आएका छन् । केही उम्मेदवारी स्वभाविक भए पनि धेरैले भने ‘वार्गेनिङ’ गरिहेका छन् । तत्काल जिल्ला र क्षेत्रबाट प्रतिनिधि चयन गर्ने अवस्था नभए पुरानै प्रतिनिधिबाट विशेष महाधिवेशन गर्नुपर्ने पनि एक पक्षको अडान छ तर त्यो अव्यवहारिक पाटो हो । नियम अनुसार प्रतिनिधि छनौट गरिए चार हजारभन्दा बढी प्रतिनिधिले महाधिवेशनमा मतदान गर्ने छन् । पछिल्लो समयमा केही पार्टी पनि एकीकरण भएकाले पनि प्रतिनिधिको संख्या बढ्ने छ ।